काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र वडा नम्बर १० को तिङग्राङखानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । अविरल वर्षाका कारण कृष्णभिरमा लगातार लेदोसहितको पहिरो खसिरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–७ का अध्यक्ष कुमार बस्नेतका अनुसार नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले कृष्णभिरमा सडक पूर्णरूपमा बन्द भएको र तत्काल सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
यस्तै, वडा नम्बर १० स्थित तिङग्राङखानीमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । राजमार्गका अन्य विभिन्न स्थानमा समेत स–साना पहिरो खसेको प्रहरीले जनाएको छ ।
धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार अन्य स्थानमा खसेका स-साना पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । वर्षा निरन्तर भइरहेकाले राजमार्गका विभिन्न क्षेत्रमा थप पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्