बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका-२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
अविरल वर्षापछि आएको बाढीपहिरो तथा अन्य विपद्का घटनामा परी जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । विपद्का घटनामा परी एक जना अझै बेपत्ता छन् ।
शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । सोही दिन निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको छ । प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्