बुटवलमा रारा मसला उद्योगमाथि गरिएको व्यवहारप्रति उद्योग संघको आपत्ति

बुटवलमा रारा मसला उद्योगमाथि गरिएको व्यवहारप्रति उद्योग संघको आपत्ति

 

बुटवल । रुपन्देही उद्योग संघले बुटवल–११, ओली पथस्थित ‘बुटवल रारा मसला उद्योग’उपर भइरहेका एकपक्षीय आरोप र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा असर पर्ने गरी उद्योगीलाई हतोत्साहित नगर्न सरोकारवालासँग आग्रह गरेको हो।

संघका पूर्व कार्यसमिति सदस्य कृष्णलाल भुसालले वि.सं. २०४६ मा स्थापना गरी २०५५ सालदेखि सञ्चालन गर्दै आएको उक्त मसला उद्योगबाट वातावरण प्रदूषण भएको भन्दै सांग्रिला पथवासीले असन्तुष्टि जनाउँदै आएका छन्। टोल समिति, वडा कार्यालय, उपमहानगरपालिका, जिल्ला प्रशासन तथा घरेलु उद्योग कार्यालय हुँदै यो विवाद हाल अदालतमा विचाराधीन अवस्थामा छ।

अदालतमा मुद्दा पुगिसकेको अवस्थामा पनि अभियन्ताका नाममा बिनापरिचय उद्योगमा प्रवेश गर्ने, नियामक निकायको स्वीकृतिबिना पत्रकार टोलीसहित अनुगमनको नाममा उद्योगीलाई हतोत्साहित बनाउने काम भइरहेको भन्दै संघले आपत्ति जनाएको छ।

विज्ञप्तिमा उपमहानगर र घरेलु तथा साना उद्योग कार्यालयको टोलीसँगै संघले पनि उद्योगको अनुगमन गरी केही सुधारका लागि निर्देशन दिइसकेको र सोहीअनुसार प्रक्रिया अगाडि बढेको स्पष्ट पारिएको छ। कुनै पनि उद्योगले कानुन र विधिविपरीत सञ्चालन गर्न नपाउने र स्थानीयको अधिकार हनन गर्न नहुने पक्षमा संघ स्पष्ट रहेको तर करोडौँ लगानी भएका स्वदेशी उद्योगी नै पलायन हुने गरी भइरहेका प्रहार नसहने विज्ञप्तिमा उल्लेख छ।

उद्योग स्थापना हुँदा सो क्षेत्रमा कुनै बस्ती नरहेको र पछि मात्र घरहरू बनेको प्रसंग उल्लेख गर्दै संघले उद्योगलाई जबरजस्ती बन्द गराउने दबाबले कसैलाई फाइदा नपुग्ने बताएको छ।

संघका महासचिव सुमन बस्याल र अध्यक्ष कृष्णप्रसाद पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार तथा नियामक निकायलाई उद्योगी र असन्तुष्ट पक्षलाई तत्काल वार्तामा राखेर समस्याको समाधान खोज्न अनुरोध गरिएको छ। साथै, अदालती प्रक्रियामा रहेका विषयमा असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न उद्योगी तथा टोलवासीमा अपिल गरिएको छ

प्रकाशित मिति : मंगलबार, असोज १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij