काठमाडौं । यस वर्षको तिहारमा भाइटीका लगाउने उत्तम साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ
समितिले सार्वजनिक गरेको विवरणअनुसार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।
समितिका अध्यक्ष प्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम मानिएको हो। सर्वसाधारणले मध्याह्नकालमा अन्य समयमा पनि भाइटीका लगाउन सक्ने समितिले जनाएको छ।
यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। सोही दिन धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ।
कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ। त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।
तिहार नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनकी देवी लक्ष्मीको आराधना गरिन्छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ।
प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्