विदेशबाट फर्किएका ६२ नेपालीलाई १४ दिनका लागि खरिपाटीको क्वारेन्टाइन पठाइयो

विदेशबाट फर्किएका ६२ नेपालीलाई १४ दिनका लागि खरिपाटीको क्वारेन्टाइन पठाइयो

भक्तपुर

विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । छयहत्तर वर्षीया एक वृद्धासहित पाँच महिला र ५७ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।विमानस्थलमा ज्वरो नापिएको उनीहरुको क्वारेन्टाइनमा पनि ल्याएर ज्वरो परीक्षण गरिएको नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ । स्वाब भने भोलि सङ्कलन गरिनेछ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कटिङ गर्दै सुरक्षित रुपमा पौने ६ बजे क्वारेन्टाइन पु¥याएको जानकारी दिनुभयो । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लैजाने भएको छ ।
स्वेच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्नेछन् । नेपाल विद्युत प्राधिकरणको चमेनागृहमा खाना बनाएर प्याकिङ गरी उनीहरुलाई पठाइएको र क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन मिलाइएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लङ्घन गर्दै दुबई, कतारलगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएको बताइएको छ । सरकारले गत बुधबार युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानका नागरिकलाई यही चैत ७ गतेदेखि आगामी वैशाख ३ गतेसम्मका लागि नेपाल आउन प्रतिबन्ध लगाएको थियो । केही समयअघि कोरोनाको आशङ्कामा सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखी उपचार गराइएको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij