तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रवेश गर्ने सिद्धार्थ राजमार्गको नाकामा स्वचालित स्यानिटाइजेसन स्टेसन बनाएको छ।
शंकरनगर खानेपानी तथा सरसफाई संस्थाको लगानीमा स्यानिटाइजेसन स्टेशन बनाइएको हो ।उत्तरी प्रवेशद्वार योगिकुटीमा शनिबारदेखि स्यानिटाइजेसन स्टेसन सञ्चालनमा आएको हो ।
खानेपानी संस्थाका अध्यक्ष हरि तिवारीले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाको अनुरोध अनुसार एकलाख रुपैयाँ बढी खर्चमा संस्थाकै इन्जिनियरले स्टेशन तयार गरिदिएको बताए ।
स्यानिटाइजेसन स्टेशनमा दैनिकरुपमा सवारी साधनको प्रवेशका आधारमा सेनेटाइजर लिक्विड बनाइने हुँदा लागत क्रमशः बढ्ने अध्यक्ष तिवारीले बताए ।
खानेपानी संस्थाका कार्यालय प्रमुख समेत रहेका इन्जिनियर दिपक पाण्डेलाई डेढ वर्ष अघि ‘गो-गो रोबर्ट’ बनाएर चर्चामा आएका तिलोत्तमा योगिकुटीका जुम्ल्याहा दाजुभाइ लब-कुश पन्थीले स्टेशनमा प्रयोग भएको सेन्सर सिस्टममा सहयोग गरेेका छन् ।कोरोना भाइरसको संक्रमण रोकथामकालागि राजमार्गमा गुड्ने सवारी साधन र पैदल हिँड्दै गरेका मानिसको शरीरमा प्रवेशद्वारमाथि पाइपमा जडान गरिएका १२ वटा नोजलबाट स्वचालित रुपमा सेनिटाइजर स्प्रे हुन्छ । स्टेशनमा एक हजार लिटरको ट्यांकीमा नेपाल गुणस्तर चिन्ह प्राप्त लिक्विड क्लोरिन मिसाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सेनिटाइजर बनाइएको छ ।
सो स्यानिटाइजर स्वचालित रुपमा पाइपमार्फत राजमार्गमा गुड्ने गाडी र हिँडडुल गर्ने मानिसहरुमा छर्किने व्यवस्था मिलाइएको छ ।
राजमार्गमा स्यानिटाइजेसन स्टेशन बनाइएको नेपालमै पहिलो भएको इन्जिनियर दीपक पाण्डेले बताए । ‘
स्टेशनमा प्रयोग गरिएको प्यासिभ एन्फारेड सेन्सर (पीआईआर) ले ‘सि प्रोग्रामिङ ल्याङ्ग्वेज’ मार्फत १० मिटर दुरीमा सवारी साधन वा मानिस आएको थाहा पाउँछ र वान हर्सपावरको मोटर अन भइ स्वचालितरुपमा नोजलमार्फत १० सेकेण्डसम्म सेनिटाइजर लिक्विड स्प्रे (छर्कने) गर्दछ,’ इन्जिनियर पाण्डेले भने चीनमा पनि यस्तै सेनेटाइजेसन स्टेशन बनाएर प्रयोग गरिएको थियो, यो कुरा युट्युबमा हेरेर आफै बनाइएको हो,’ पाण्डेले भने ।
उनका अनुसार स्यानिटाइजेसन स्टेशनमा आउने सवारी सधान वा मान्छेमा स्यानिटाइजर छर्किनका लागि मानवीय जनशक्ति खटिनु पर्दैन ।
स्टेशनमा सवारी साधनको गति कम गराउन स्पिड ब्रेकर राखिनुका साथै ब्यानर टाँगेर बिस्तारै चलाउन चालकहरुलाई सूचित गरिएको छ । जसले गर्दा सवारी साधनको सबै भाग राम्रोसँग स्यानिटाइज हुन्छ ।
संस्थाकै कर्मचारी सुनिल गौतमले पनि प्राविधिक सहयोग गरेको इन्जिनियर पाण्डेले बताए ।
स्टेशनको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले सवारी साधनमार्फत पनि मानिसमा कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले सवारी साधनमा स्यानिटाइजर छर्केर जोखिममुक्त बनाउन स्टेशन बनाइएको बताए ।
घिमिरेका अनुसास अब छिट्टै दक्षिणी नाका कोटिहवामा पनि नगरपालिकाले स्यानिटाइजेसन स्टेशन बनाउने बताए ।
इन्जिनियर पाण्डेले लकडाउनका बेला पनि मालसामान ढुवानी नरोकिने भएकाले नेपाल भारत सीमा क्षेत्रका भन्सार नाकाहरुमा पनि यस्ता स्यानिटाइजेसन स्टेशन राखेर कोरोनाको संक्रमणबाट जोगिन जरुरी रहेको सुझाए ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्