कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ।
समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो।
आफ्नो विवाह फेरि सरेको जानकारी प्रधानमन्त्री फ्रेडेरिक्सनले आफैं फेसबुकमा लेखेर दिएकी छन्।
‘म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन। अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो।’
आफूले आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले फेरि विवाह गर्ने मिति पर सार्नु परेको उनको भनाइ छ।
‘हामी चाँडै विवाह गर्न सक्षम हुनेछौं। म बो ९जो निकै धैर्यता राखिरहेका छन्० लाई ‘यस’ भन्न आतुर छु,’ उनले लेखेकी छन्।
युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुँदैछ। उक्त बैठक गत सातामात्र तय भएको थियो।
कोरोनाभाइरसको संक्रमण रोक्न महिनौं लकडाउन भएपछि पहिलो पटक युरोपियन युनियनका नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।
बैठकका क्रममा कोरोनाले क्षति भएको अर्थतन्त्रको पुनर्उत्थान योजना र इयूको नयाँ बजेटबारे छलफल हुनेछ।
प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्