काठमाडौ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन गरेको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मकरुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताए ।
कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस् भनेर सचिवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझावअनुसार अनुमोदन गरिएको उनले बताए । कार्यदलले छिटोभन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने उनले विश्वास व्यक्त गरे ।
पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उनले बताए ।
संघीय सरकारका मन्त्री र केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी हो ? भन्ने पत्रकारहरुको विज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । अहिले मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा अहिले पार्टीमा केही छलफल भएको छैन ।’
प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्