नेकपा खारेजको फैसला पुनरावलोकनमा जाने माओवादीको तयारी

नेकपा खारेजको फैसला पुनरावलोकनमा जाने माओवादीको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानुन व्यवसायीसँग पारमर्श गरेको हो ।

सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा बदर गरी ती दुुई दललाई एकीकरण पूर्वको अवस्थामा पुुर्‍याइदिएको थियो ।

नेकपाको नामसम्बन्धी मुुद्दामा सर्वोच्चले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर पार्टी एकीकरण बदर गर्ने फैसला गरेको भन्दै कानुन व्यवसायीले आश्चर्य प्रकट गरेका थिए । यद्यपि, अदालतको फैसलाअनुसार दुवै दलले पूूर्ववत् अवस्थामा आ–आफ्नो गतिविधि अगाडि बढाएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले मागदाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुुनरावलोकनमा जान सकिने सुुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । फैसलाको पुनरावलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ ।

‘पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानुन व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिकभन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरावालेकनमा जानुपर्छ भनेर कानुन व्यवसायीको सुुझाव रह्यो,’ उनले भने, ‘अब पार्टीले छिट्टै निर्णय गरेर अगाडि बढ्छ ।’

सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ ।

फेरि पनि संसद् भङ्ग गर्ने सङ्केत देखापरेको र त्यस्तो अवस्था आए के गर्ने भन्दै कानुन व्यवसायीसँग परामर्शसमेत गरिएको सचेतक गुरुङले बताए । ‘अहिलेको समसामयिक कानूनी जटिलता, संसद्‌मा देखापरेका असहजताका बारेमा नेताहरुले कानुन व्यवसायीसँग परामर्श गर्नुभएको हो,’ उनले भने, ‘सरकारले संसद्लाई ‘बिजनेस’ दिन छाडेको छ, जसरी भए पनि फेरि संसद् भंग गर्नेतर्फ सरकार अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा सदनलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कानुनी परामर्श खोजिएको हो ।’

मन्त्रिपरिषद्को बैठकको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् भंग गर्ने सरकारको उक्त कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुुनःस्थापित गराइदिएको थियो ।

छलफलमा राजधानीमा उपलब्ध स्थायी समितिका सदस्य र कानून व्यवसायीको सभागिता थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij