कास्की । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड ५० लाख विनियोजन गरेको छ ।
चिडियाखानाको अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ ।
क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना हुने नवाैँ संस्करणको पोखरा महोत्सवको तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।
उहाँका अनुसार पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यकासाथ महानगर–३०, ३१ र ३२ मा पर्ने पचभैया, चापापानी चिसाकुना र चैनपुरको १३४ हेक्टर क्षेत्रफलमा मानव निर्मित खुल्ला चिडियाखाना निर्माण भइरहेको छ ।
चिडियाखाना निर्माणका लागि नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका तथा क्लबको सहकार्यमा रु ४५ लाख ८५ हजारबराबरको भौतिक निर्माण गरिएको उनले बताए । यस पटकको महोत्सवमा दर्शकलाई बसमार्फत चिडियाखाना अवलोकनको लागत लाने र ल्याउने समेत गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेको क्लबले प्रत्येक वर्ष प्रतिप्रवेश टिकटमा रु एकका दरले छुट्याएर सेतीनदी संरक्षण एवम् शान्तिसुरक्षाका लागि पुलको दायाँबायाँ दुवै किनारामा सिसी क्यामेरासमेत जडान गरिएको उनी बताउँछन् ।
कला, संस्कृति, वेशभूषाको संरक्षण तथा शिक्षा, स्वास्थ्य, खेलकूद एवम् पर्यटनको विकाससँगै मुलुकको समृद्धिमा सहयोग पु¥याउँदै सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउनु महोत्सवको लक्ष्य रहेको छ । रासस
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्