संसद् अधिवेशन अन्त्य

संसद् अधिवेशन अन्त्य

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको असहमतिका बाबजुद सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेको हो।

सोमबारको संसद बैठककाे अन्त्यमा सभामुख सापकोटाले सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको भन्दै पढेर सुनाएका थिए।

संसदको चालु अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग प्रधानमन्त्री शेरबहादुर देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल गरेका थिए। तर, सभामुखले तत्काल संसद अन्त्य गर्नुभन्दा यसलाई बिजनेससहित प्रभावकारी बनाउँदा उपयुक्त हुने धारणा राखेको स्रोतले जनाएको छ।

दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना पुगे पनि यो अवधि खासै उपलब्धिमूलक बन्न सकेन। केही अध्यादेश र विधेयकहरु संसदमा अलपत्र भए पनि यो अधिवेशनमा छलफल हुन पाएन।

सरकारले पर्याप्त बिजनेस दिन नसक्दा संसद बैठकहरू शून्य र विशेष समयमा सांसदका भाषण, संसदीय समितिका प्रतिवेदन र शोक प्रस्तावमै सिमित बन्यो।

केपी ओली नेतृत्वको सरकारले जस्तै यो सरकारले पनि संसद अधिवेशन रोकेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बतायो।

आठौं अधिवेशनमा भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी

१) सम्मानित सर्वोच्च अदालतको २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक २०७८ साल साउन ३ गते आइतबार प्रारम्भ भई आज २०७८ साल साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसी जम्मा २० (………..) घण्टा १५ (………..)  मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो । 

२) यस अधिवेशनमा “आर्थिक अध्यादेश, २०७८”, “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८”, “विनियोजन अध्यादेश, २०७८”, “फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८”, “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८”, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८”, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८”, “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८”, “कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८”, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८”, “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८”, “रेल्वे अध्यादेश, २०७८” र “शपथ सम्बन्धी अध्यादेश, २०७८” एवं सातौं अधिवेशनमा दर्ता भएको “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७” सदनमा प्रस्तुत मात्र भए भने सातौं अधिवेशनमा नै दर्ता भएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” मिति २०७८ साउन ३ गतेको प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारबाट फिर्ता भएको जानकारी गराइएको थियो ।

३)    प्रतिनिधि सभाको चालू अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता भएन भने राष्ट्रिय सभामा उत्पत्ति भै पारित भएर आएका ७ वटा विधेयकहरु सम्बन्धी उक्त सभाको सन्देशको जानकारी सभामा गराइएको थियो । त्यसैगरी यस  अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयकहरु प्राप्त भएका थिए । जसमध्ये “कारागार विधेयक, २०७६” का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेश भएको छ ।

४)    मिति २०७८ साउन ३ गतेको दोस्रो बैठकमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि राख्नुभएको प्रस्तावलाई मत विभाजन गरी निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा जम्मा १६५ मत परेकोले बहुमतबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । 


५)    यस सभाको विभिन्न मितिमा बसेको बैठकमा जम्मा १८२ जना मा सदस्यहरुले शून्य समयमा र जम्मा ५८ जना मा सदस्यहरुले विशेष समयमा समसामयिक विषयहरुमा आ–आफ्नो भनाई राख्नुभएको
थियो ।

६)  यस अधिवेशनमा “महालेखा परीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदन, २०७७”, “निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७”, नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको “नेपाल सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७” र “मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७” पेश गर्ने कार्य सम्पन्न भयो ।

 ७) चालू अधिवेशनमा संविधान सभा सदस्यहरु मोहम्मदी सिद्दिकी, शिवबहादुर खड्का, रबनी चौधरी, पशुपति चौलागाई र तप्तबहादुर विष्ट एवं पूर्व सदस्यहरु मोतिप्रसाद पहाडी, विदुर पौडेल, योगनारायण यादव, रत्नप्रसाद शर्मा, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, बिष्णु बहादुर तामाङ (बिएल वाइवा) र अकबरबहादुर सिंहको निधन भएकोमा शोक प्रस्तावहरु पारित भएका छन् ।

८) यसै अवधिमा सदनको मिति २०७८ साउन १९ गतेको बैठकमा मा गृह मन्त्री श्री बालकृष्ण खांणले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी कार्यको सम्बन्धमा, धनुषा जिल्लामा पल्टु रविदासको हिरासतमा मृत्यु भएको सम्बन्धमा, मनसुनजन्य घटनाको क्षति विवरण तथा सिन्धुपाल्चोक र मनाङ जिल्लामा बाढी पहिरोले पु¥याएको क्षतिका सम्बन्धमा, मिति २०७८ साउन २६ गतेको बैठकमा मा अर्थ मन्त्री श्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा र मिति २०७८ साउन २८ गतेको बैठकमा मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री उमेश श्रेष्ठले कोभिड–१९ को रोकथाम र खोप व्यवस्थापनमा सरकारद्वारा भैरहेको प्रयासका सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिनुभयो । 

प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij