बुटवल-आज लुम्बिनी प्रदेशकाे अस्थायी राजधानी बुटवल स्थित हाेटल ड्रिम इन्टरनेश्नलमा “मदिराका नकारात्मक असरहरु र नियमनकाे आवश्यकता” सम्बन्धी उपभाेक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश र विश्व स्वास्थ्य सङ्गठनकाे संयुक्त आयाेजनामा सचेतना कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकारले आजभन्दा पहिलाका कानुनमा टेकेर थप ऐन, कानुन, निर्देशिका बनाएर समाजमा अल्काेहल नियमन तथा नियन्त्रणमा लाग्ने बताउनु भयाे । उहाँले कानुनहरु विवेकहीनताकाे अवस्थाकाे लागि हाे, सभ्य समाजमा कानुनकाे आवश्यकता हुँदैन भन्दै हामीले कानुनविहीन सभ्य समाज बनाउन लाग्नुपर्ने बताउनु भयाे । नेता कर्मचारीलाई फकाउन र भाेट पाउन रक्सीकाे प्रयाेग भएकाे भन्दै याे प्रचलन विरुद्ध सबैलाई सचेतना अभियानमा लाग्न आग्रह गर्नु भयाे । डब्लुएचकाेका प्रतिनिधि हरि भुसालले संयक्त राष्ट्र सङ्घले ग्लाेबल स्ट्टाटेजी बनाई सकेकाे हुनाले र नेपाल पनि सदस्य राष्ट्र भएकाेले प्रभावकारी कार्यान्वयनकाे लागि ऐन, नियम बनाउनकाे लागि यस कार्यक्रमले पृष्ठभूमि निर्माणकाे काम गर्ने बताउनु भयाे । उहाँले याे प्रदेशमा ७४ प्रतिशतले अल्काेहल सेवन गरेकाे भन्दै उत्पादक जनशक्तिमा नराम्राे लत बस्न थालेकाेले अवस्था गम्भीर भएकाे बताउनु भयाे । कार्यक्रममा कमला ब्रम्हकुमारीले हामीले याे विषयमा काम गरिरहेका थियाै, यस अभियानमा हामीलाई पनि जाेड्नु भएकाेले खुसी लागेकाे बताउँदै अल्काेहलकाे उपभाेग नगर्न सङ्कल्प गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा मदिरा व्यवसायी सङ्घका अध्यक्ष बाबुराम ज्ञवाली, प्राध्यापक मुकुन्द पाेखरेल,प्राध्यापक दिनेश पन्थी,उपभाेक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली,व्यापार सङ्घ अध्यक्ष यमलाल लाेहनी, प्रदेश सल्लाहकार यमलाल खनाल, उद्याेग सङ्घ अध्यक्ष माधव पाैडेल,युवा उद्यमी उज्वल कसजू, नेपाल पत्रकार महासङ्घका रुपन्देही अध्यक्ष रामराज पाेखरेल, प्रदेश युनियन महासचिव विक्रम खड्काले बाेल्नु भएकाे थियाे । कार्यक्रममा उपभाेक्ता हित संरक्षण मन्च केन्द्रीय उपाध्यक्ष केशव शर्माले “उपभाेक्ता हित र संरक्षण सम्बन्धी बनेका ऐन कानुन र निर्देशिका”हरुकाे विषयमा कार्यपत्र र प्रदेश सल्लाहकार प्रमुख डिआर घिमिरेले मदिराकाे हानि र नियन्त्रणकाे विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । वक्ताहरुले ती दुबै कार्यपत्रमाथि टिप्पणी गरेका थिए । यस कार्यक्रमले निम्न निष्कर्स निकालेकाे थियाे -: जनचेतना बढाउँदै जाने, अल्काेहल निषेध हैन नियन्त्रण व्यवस्थापन र नियमन गर्नु पर्ने, सरकारी भाेजहरुमा अल्काेहलकाे प्रयाेग निषेध गर्नु पर्ने, सार्वजनिक ठाउँमा अल्काेहलकाे प्रयाेग गर्न नहुने, अल्काेहलकाे आयात राेक्नु पर्ने, स्थानीय तहमा ऐन बनाएर कार्यान्वयन गर्नुपर्ने, लाेकल रक्सीलाई निषेध हैन, ब्राण्ड बनाएर विक्री गर्नु पर्ने, साँस्कारिक मूल्यमाथि निषेध नगरी उपभाेगमा न्यूनीकरण गर्नु पर्ने, पाठ्यपुस्तकमा विषय समावेश हुनु पर्ने, जथाभावी विज्ञापन बन्द गर्नुपर्ने, अल्काेहल आयात राेक्न अत्यधिक भन्सार महशुल लिनु पर्ने, अल्काेहल बेच्नेले उपभाेक्ताकाे विवरण राख्नु पर्ने, विद्यालय कार्यालयलगायतका सार्वजनिक संस्थामा आचार संहिता टाँस गर्नुपर्ने, अनुगमनलाई तीव्र बनाउने, किशाेरकिशाेरीलाई रक्सीकाे जानकारीबाट टाढा राख्नु पर्ने, विद्यालय, मन्दिरकाे वरिपरि रक्सी पसल राख्न नपाउने, जथाभावी डिलरहरु थप्न इजाजत नदिनेजस्ता कुराहरु सुझावकाे रुपमा आएका थिए । कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठककाे अध्यक्षता, ऋषि आजादकाे स्वागत र सचिव दुर्गा गाैतमले सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रम हाेरिजेन्टल शैलीमा भएकाे थियाे ।
प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्