सुरक्षाकाे भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

सुरक्षाकाे भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो ।

आज शुक्रवार सिंहदरबारमा रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उहाँले विकास, निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय देशकाे सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो । भरपर्दो सुरक्षा प्रबन्ध नभइ देशमा एकातिर विकास, निर्माणका कामहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । कैयौँ संवेदनशील विषयहरूमा समेत प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभएको छ । त्यसलाई हामीले शतप्रतिशत रूपमा कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरू सम्पन्न गर्ने र सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ । यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा सचिव शर्माले बैठकमा आएका महत्त्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, माघ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij