बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ ।
बुटवलका १९ मध्ये १८ वडा र गणना सम्पन्न हुँदा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि छन् । खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।
बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
यसपटकको चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेल,भोजप्रसाद श्रेष्ठको वडा नंं ८, निवर्तमान मेयर शिव सुवेदीको वडा नंं ७, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नगर अध्यक्ष किसन ज्ञवालीको वडा नं १३ पनि कांग्रेसले गठबन्धनका दलको सहयोगमा जितेर एमालेको किल्ला भत्काइदिएको छ ।
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि एमालेको एकछत्र राज ढालेर नेतृत्व आफ्नो पोल्टामा फर्काउन सफल भएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्