बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका ६ महिनासम्मको प्रगतिबारे विस्तृत जानकारी मागेको छ ।
सोमबारको लेखा समितिको बैठकमा उपस्थित मन्त्री र सचिवले पेश गरेको विवरण पर्याप्त नभएको भन्दै विस्तृत विवरण माग गर्ने निणर्य गरेको समिति सभापति डिल्ली चौधरीले जानकारी दिए ।
माग गरेअनुसारको विवरण पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले पेश गर्न नसकेपछि सांसद्हरुले ‘६ महिनासम्म के गरेर बसेको थियो सरकार’ भनेर प्रश्न गरेका छन् ।
समितिमा मन्त्रालयका प्रगति विवरण पेश गर्नका लागि बोलाइएको भएपनि मन्त्री लिला गिरी र सचिव धनञ्जय पौडेलले मन्त्रालयका ६ महिनाको प्रगति विवरण पेश गर्न नसकेपछि समिति सभापति चौधरीले सोधे –सरकार गठन भएयता के गरेर बस्नुभयो ? ६ महिनाको प्रगति के हो ?’
मन्त्री गिरीले जवाफ फर्काए–हामी कार्यविधि बनाएर योजनाबद्ध हिसाबले काम गरिरहेका छौं, अहिले यति बजेटको यति रकम खर्च भयो, वा प्रगति के भयो भन्ने कुरा भन्दा पनि योजना कार्यान्वयनको कामहरु अघि बढिरहेका छन्, अख्तियारी दिएर खर्च गर्ने काम पनि अघि बढेको छ ।’
सभापति चौधरीको अर्को प्रश्न थियो–‘६ महिना क्रसरलाई नियमन गर्न किन सकिएन, बालुवा खोलाबाट उठाएर सकेपछि के नियमन गर्ने ? खोला नै उठाएपछि के अर्थ छ त्यस्को ? राजस्व चुहावट रोक्न किन चासो देखाउनुभएको छैन, जब राजस्व उठ्दैन, त्यसपछि त जनताकहाँ विकासका लागि जाने बजेट कसरी जानसक्छ ?’
मन्त्रीको जवाफ आयो–‘कतिपय कुरा कानुन नहुँदा रोकिएका छन्, तैपनि कार्यविधिहरु बनाएर हामीले अख्तियारी दिनुपर्ने ठाउँमा दिइरहेका छौं ।’
त्यसपछिको प्रश्न थियो–सरकारले काम गर्न, राजस्व चुहावट रोक्न कानुन भएन भनेर हुन्छ ? यसरी काम रोकेर रोक्नुहुँदैन ।’
त्यसपछि समिति सभापति चौधरीले मन्त्रालयका प्रगतिको अवस्थाबारे विस्तृतमा लिखित रुपमा लेखा समितिलाई बुझाउन आग्रह गरे ।
समितिको बैठकमा सांसद्हरु कुलप्रसाद पोखरेल, रेवती रमण शर्मा, तिलकराम शर्मा, युवराज खनाल, पार्वती पुन, गिता थापाले मन्त्रीलाई विविध विषयमा प्रश्न राखेका थिए ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्