बुटवल
बुटवल उपमहानगरपालिकामा उपविजेता, पूर्व जनप्रतीनिधी र दलका नेताहरुको लागि सम्पर्क कक्ष स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गर्नु भएको हो ।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुको लागि सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो । उहाँले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताउनुभयो ।
उहाँले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपबिजेताहरु र राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गर्नुभयो ।
१ सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं ।’
असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवलका समस्याहरु समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । बुटवललाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा प्रमुख पाण्डेयले १ सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको जानकारी गराउनु भयो ।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको छ ।
डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको गरिएको नगरप्रमुख पाण्डेले बताउनु भयो ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरु कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।
एक सय कार्यदिनमा भएका उपलब्धि तथा प्रयासहरु
असार मसान्त लागेपछि योजना सम्पन्न गर्नथाल्ने परिपाटीको अन्त्य गर्न वार्षिक कार्ययोजना स्वीकृत गरी जेठ मसान्त भित्रै कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरी सकिएको छ ।
चालू आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल करमा १० प्रतिशत, इरिक्सा कर, हाटबजार बैठकी करमा १० देखि १८ प्रतिशतसम्म, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत कर छुट गरिएको छ ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत कर छुट गरिएको छ ।
नागरिकता, अपाङ्गता, जेष्ठ नागरिक परिचय पत्र सहित १३ प्रकारका सिफारिश दस्तुर निःशुल्क गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया आरम्भ गरिएको छ ।
बुटवल-१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्न जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढेको छ ।
आम्दा अस्पतालमा प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्ययनका लागि सम्बन्धन तथा आवश्यक शैक्षिक पूर्वाधार तयार गर्न प्रक्रिया अगाडि बढाईएको छ ।
बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक बजेटको व्यवस्था गरिएको छ ।
बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग बहु तले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई अध्ययन कार्य शुरू भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको ३५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति माग गरी प्रक्रिया अगाडि बढाइएको छ ।
बुटवल-१६ मा कृषिविज्ञान (बी.एस.सी.एजी.) कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
बुटवल-बेलहिया सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम अलपत्र परेपछि निर्माण कार्यको अनुगमन र सहजीकरण गर्न बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, उद्योग वाणिज्य संघका प्रमुखहरू, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष, निर्माण कम्पनीका सञ्चालक र सडक आयोजनाका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरी सडक निर्माणको कामलाई तीब्रता दिइएको छ ।
लामो समयसम्म विवादमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न नगरप्रमुखको समन्वयमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूको समुपस्थितिमा मोतिपुर औद्यौगिक क्षेत्र नापजाँच गरी यथार्थ प्रतिवेदन दिन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्व र बुटवल उपमहानगरपालिकाका कार्यालय प्रमुख सदस्य सचिव रहने गरी सरोकारवाला समावेश भएको १३ सदस्यीय कार्यदल गठन भई आवश्यक कार्यको थालनी भएको छ ।
राष्ट्रकै महत्वपूणर् व्यक्तित्वहरू स्व. वीपी कोइराला, स्व. पुष्पलाल श्रेष्ठ र यस नगरका पूर्व नगरप्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृति पार्कको शिलान्यास गरिएको छ ।
नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने प्रक्रिया अगाडि बढाई सकिएको छ ।
लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेकाहरू तर बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना गरी आवश्यक कार्यको शुरूवात भएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा प्रदान गर्न नापजाँचको कार्य निरन्तर चलिरहेको छ ।
जलस्रोत नीति तर्जुमाका लागि बुटवल वडा नं. १२ का वडाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
मौजुदा स्रोत साधनको अधिकतम प्रयोग गर्ने र मितव्ययी एवं पारदर्शिताका लागि उपलब्ध हुँदै आएका सुविधाहरुमा केही कटौती गर्ने गरी आर्थिक कार्य सञ्चालन निर्देशिका, २०७८ मा दोस्रो संशोधन गरिएको छ ।
उपमहानगर क्षेत्रभित्र यत्रतत्र रहेका ठेला व्यवसाय र ई-रिक्सालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनी अध्ययन गरी पेश गर्न नगरप्रमुखको संयोजकत्वमा ठेला व्यवसाय र उपप्रमुखको संयोजकत्वमा ई-रिक्सा व्यवस्थापन समिति गठन गरिएको छ ।
लेखा प्रणालीलाई छिटोछरितो र पारदर्शी भुक्तानीका लागि भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच ९भ्ँत्० साउन १ देखि प्रभावकारी रुपमा लागू गरिएको छ ।
१२ वर्ष भन्दा माथि उमेर समूहका सबै नागरिकहरुलाई कोभिड १९ विरुद्धको पूणर् खोप भएको सुनिश्चितता घोषणा गरिएको छ ।
१५ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई पूणर् खोप दिगोपना सुुनिश्चितता घोषणा गरिएको छ ।
५ वर्षदेखि ११ वर्ष सम्मका सबै बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको पूणर् खोप पहिलो र दोश्रो मात्रा लगाइएको छ ।
डेंगु रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लामखुट्टेका लार्भा नष्ट गर्ने कार्य र फगिङ गर्ने कार्य निरन्तर सञ्चालन गरिएको छ ।
वैदेशिक रोजगारमा जाने नागरिकलाई सहजीकरण तथा सहजताका लागि कोभिड १९ विरुद्धको खोपको क्यूआर कोड उपलब्ध गराउने कार्य सञ्चालन भईरहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५०० रुपैयाँ पोषण खर्च दिन शुरु गरिएको छ ।
एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई पढ्ने उमेरदेखि नै आयमूलक कार्यमा संलग्न गराउनका लागि कमाउ र अध्ययन गर भन्ने अभियानका साथ श्री नवरत्न माध्यमिक विद्यालय बुटवल-१५ छनौट गरी कार्यक्रम सञ्चालन गरिएको छ ।
तिनाउ नदीकिनारका बस्तीमा बाढीले जोखिम पुर्याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गरिएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्य गरिएको छ ।
ज्योतिनगर पहिरोबाट प्रभावित क्षेत्रमा इन्जिनियर सहितको टोलीलाई एक्साभेटर, ट्याक्टर समेत उपलब्ध गराई त्यस क्षेत्रमा आउने पहिरोबाट हुनसक्ने क्षति कम गर्नका लागि खटाइएको छ र नगर स्तरीय उद्धार टोली समेत गठन गरी सक्रिय बनाईएको छ ।
नगर कार्यपालिकाका निणर्यहरू सम्बन्धमा जानकारी गराउन नगर प्रवक्ता र विभिन्न समितिका संयोजकहरूको व्यवस्था गरी डेस्कको व्यवस्था गरिएको छ ।
बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा आपसी समन्वय, सहकार्य र सहजीकरणका लागि निरन्तर छलफल र समन्वय गर्ने कार्यका लागि प्रतिमहिना बैठक बस्ने कार्यको थालनी गरिएको छ ।
न्यायिक समितिद्वारा विवाद निरुपण तथा विवादमा मेलमिलापको कार्य निरन्तर सञ्चालन भइरहेको छ ।
बुटवल क्षेत्रमा उपभोक्ताको अधिकारलाई ध्यानमा राख्दै निरन्तर अनुगमन र नियमनको कार्य निरन्तर सञ्चालन भइरहेको छ ।
समन्वय र सहकार्यलाई अगाडि बढाई साझामञ्चका रुपमा स्थापित गर्न पूर्व नगरप्रमुख, उपप्रमुख, उपबिजेता र सबै दलहरुका लागि साझा कक्ष स्थापना गरिएको छ ।
सार्वजनिक जग्गा संरक्षणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सार्वजनिक जग्गा संरक्षण समिति र नगरप्रमुखको संयोजकत्वमा नगरस्तरीय समिति गठन गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्