सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

कास्की – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर नागरिककाे निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन देशकाे आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर चुनावका बेला नागरिकसमक्ष कबुल गरेको उल्लेख गर्दै त्यहीअनुसार आफूले काम गर्ने बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभइ सिङ्गै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका नागरिकले पटक–पटक गरेको आन्दोलन, सङ्घर्ष, अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिका स्मरण गरिराखेको छु । याे विमानस्थलले यस जिल्लाको र सिँगै राष्ट्रको पनि आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कुरामा कसैले पनि दुईमत राख्दैन । मैले भनेको छु– यो पटक हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको मूलमन्त्र बनाएर नागरिककाे निम्ति समर्पित भएर काम गर्ने अठोट गरेका छौँ । यहाँहरूलाई थाहा छ– मैले चुनावकाे अभियानको दौरानमा देशैभरि घुम्दा पनि सामाजिक न्याय, सुशासन र विकास नै अब देशको एजेन्डा बन्नेछ, बन्नु पर्दछ भनेकाे थिएँ । शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि मैले बाँकी जीवन आर्थिक विकास र समृद्धिमा, सामाजिक न्याय र सुशासनमा भनेर मैले नागरिककाे अगाडि कबुल गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले याे विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको बताउनुभयो । उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले देशकाे आर्थिक विकासका लागि ‘कनेक्टिभिटी’ को महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा योगदान पुर्‍याउने बताउनुभयाे । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने आश्वासन पनि दिनुभयाे ।

कार्यक्रममा पाेखरा विमानस्थल निर्माणमा योगदान पुर्‍याउने पूर्वपर्यटनमन्त्रीहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij