काठमाडौ – इन्फ्लुएन्जा सन् २००९ मा महामारीको रुपमा फैलियो। त्यतिबेला यसलाई स्वाइन फ्लूको नाम दिएको थियो। स्वाइन फ्लू बंगुरबाट व्यक्तिमा फैलिएको भनेर विज्ञहरुले पत्ता लगाएका थिए। स्वाइन फ्लूलाई सुँगुर ज्वरो पनि भन्ने गरेको पाईन्छ। तर सन् २०१० पछि भने स्वाइन फ्लू बिस्तारै मान्छेबाट मान्छेमा सर्दै गएको चिकित्सकले बताएका छन्।
त्यही मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) लाई स्वाइन फ्लु भन्नेहरुको संख्या अझैसम्म पनि कम छैन। अहिलेको समयमा स्वाइन फ्लू नभएर मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) फैलिरहेको टेकू अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए।
सामान्यतया मौसम परिर्वतन हुने समयमा मौसमी रुघाखोकीका बिरामीहरु बढ्ने गरेको सरुवारोग विशेषज्ञ डा. बास्तोलाले बताए। पछिल्लो समय चिसो बढेका कारण मानिसहरुमा मौसमी रुघाखोकीको संक्रमण पनि बढेको छ। ‘चिसोमा किटाणुहरु सक्रिय हुने हुदाँ अन्य मौसममा भन्दा चिसो मौसममा यसका विरामीहरु धेरै बढ्छन्’ उनले भने, ‘इन्फ्लुएन्जा भाइरस वा यसबाट निस्किने ड्रपहरुको कारणले यसको संक्रमण बढ्ने गर्छ।’
मानिसलाई रुघाखोकी, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, पेट मडारिने, बच्चाहरुमा पखाला लाग्ने वा वाकवाकी लाग्ने, बान्ता हुने आलस्य हुने जस्ता लक्षणहरु देखा परेपछि अस्पताल पुग्नेहरुको संख्या बढेको सरुवारोग विशेषज्ञ डा. बास्तोलाले जानकारी दिए। अन्य रोगहरुको तुलनामा मौसमी रुघाखाकी एकदमै छिटो एकबाट अर्कोमा सर्ने गर्छ। इन्फ्लुएन्जाको लक्षण देखा परेका बिरामी वा ठिक भइसकेका बिरामीबाट दुईदेखि तीन दिनसम्म पनि अन्य व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ।
त्यसैले रुघाखोकी लागेको व्यक्ति बसेको ठाउँ भन्दा अलि टाढा बस्न, धेरै भिडभाड भएको ठाउँमा नजान र अनिवार्य मास्क लगाउन डा. बास्तोलाको सुझाव छ। अहिले स्वास्थ्य सम्बन्धी जनचेतना बढेका कारण रुघाखोकी लाग्ने बित्तिकै मानिसहरु जाँचका लागि अस्पताल पुग्नेहरुको संख्या धेरै छ। उनका अनुसार इन्फ्लुएन्जा खोक्दा वा हाच्छिउ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ। त्यसकारण खोक्दा, हाच्छिउँ गर्दा रुमाल वा सफा कपडाले नाक मुख छोप्ने, पटक–पटक सफा पानीले हात मुख धुने, सकेसम्म कुनै पनि व्यक्तिसँग हात मिलाउनुको साटो नमस्कार गर्ने जसले गर्दा संत्रमण सम्भावना कम हुन्छ।
त्यसैगरी, पाँच वर्ष मुनीका बालबालिका, फोक्सोको संक्रमित, एचआएभी संक्रमित, गर्भवती महिला, किड्नी, ब्लड क्यान्सर, मुटु रोग, मधुमेह भएका व्यक्तिहरुमा इन्फ्लुएन्जाको जोखिम बढी हुने गरेको छ। इन्फ्लुएन्जा प्रत्येक वर्ष एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले नै यसलाई सिजनल इन्फ्लुएन्जा भनिन्छ। यसबाट बच्ने उपाय भनेको संक्रमित व्यक्तिहरुको सम्पर्कबाट टाढा बस्नु र सफा सुग्घर रहनु नै हो।
सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छ्युउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै यसबाट जोगिने प्रमुख उपायहरु हुन्। फोहोरको माध्यमबाट भाइरस छिटै फैलिने हुँदा अन्य व्यक्तिलाई छिटो सर्ने डा. बास्तोलाले बताएका छन्। यति मात्र नभई इन्फ्लुएन्जाका विभिन्न संक्रमणहरुबाट बच्न हरेक वर्षमा एक पटक इन्फ्लुएन्जा विरुद्धको भ्याक्सिन लगाउन उनले आग्रह समेत गरेका छन्।
प्रकाशित मिति : शनिबार, माघ १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्