काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।
लगानी बोर्ड नेपालको बैठकलाई आज बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च–मध्यम आयको देशमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’ उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेकोसमेत बताउनुभयो ।
‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम–आयको देशमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ तर सरकारसँग लगानीका सीमित स्रोत रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘विशेषगरी परियोजनाका लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले त्यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु’, उहाँले भन्नुभयो । उहाँले ठूला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरणजस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्