काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षानिकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन्।
गृह मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले सुरक्षानिकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताए। उनले सुरक्षानिकायमा हुने बिचौलियाको भूमिका शून्यमा झारिने बताए।
उनले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउने गरी काम गरिरहेको बताए। उनले सुरक्षानिकायमा काम गर्नेहरूको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामै प्रश्न उठ्ने भन्दै दबाबरहित प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिए। उनले निष्पक्षताको आधारमा सुरक्षानिकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताए।
उनले भने, ‘देशको अहिलेको एउटा गम्भीर प्रश्न राजनीतिको सफाइ अभियान हो। राजनीति सफा नगरी राजनीतिले देशको परिवर्तन गर्न सक्दैन भन्नेमा म अहिले प्रतिबद्ध छु। हाम्रो सुरक्षानिकाय र गृह प्रशासनमा राजनीति, कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्छ। चलनचल्तीमा सुनिएको विभिन्न प्रकारको अन्य चलखेल पनि हुने‚ बिचौलियाको भूमिका पनि हुने भन्ने थियो। त्यो अब सम्भव हुँदैन। राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो। हाम्रो प्रशासनले, आफूलाई दिएको जिम्मेवारी सकारात्मक ढंगले निर्वाह गरे पनि कतिपय गुनासो आउने गरेको कुराबाट बेखबर छैनौँ। पहुँच भएका शक्तिकेन्द्रमा जान सक्नेहरूको कुरा सुन्ने, तिनीहरूले भेटघाट पाउने तर गरिब, असहाय जनसाधारणले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ। हाम्रो सुरक्षानिकाय हाम्रो गौरव हुनुपर्छ। सुरक्षानिकायको काम गर्ने साथीहरूको मनोबल गिर्यो भने हाम्रो सुरक्षानिकायको मनोबल उठ्दैन। सुरक्षानिकायका हाम्रा जनशक्तिको मनोबल उठ्दैन। त्यसकारण हामीले सिस्टम स्थापित गर्ने र निष्पक्षताको आधारमा सुरक्षानिकायमा पदस्थापन गर्ने कुरा हुनुपर्छ।’
मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरूले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटोभन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे। उनले संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएर मात्रै नागरिकता उपलब्ध गराउने कुरा उल्लेख गरेकाले ऐन निर्माणका प्रक्रिया शुरु भइसकेको र छिटै वास्तविक नागरिकले नागरिकता पाउने बताए। उनले नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको पनि बताए। उनले संविधानले नै नागरिकता पाउनुपर्छ भनेकाहरूको हकमा नागरिकताबाट वञ्चित गर्ने काम अब नहुने जिकिर गरे।
उनले भने, ‘अर्को महत्त्वपूर्ण विषय नागरिकताको बारेमा हो। यो देशका सबै वास्तविक नागरिकहरूले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटोभन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार छ। त्यस कारणले हामी नागरिकता संवैधानिक रूपले नै पाउनुपर्नेहरूलाई नागरिकता छिटोभन्दा छिटो दिलाउन प्रतिबद्ध छौँ। नागरिकताको सवालमा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस् भन्ने चाहन्छौँ। योसँग जोडिएका कतिपय पक्षमा भिन्न दृष्टिकोण छन्। यसमा विचारविमर्श गरेर राष्ट्रिय सहमतिको पहल पनि गर्नेछौँ तर कुनै पनि हालतमा संविधानले नै नागरिकता पाउनुपर्छ भनेकाहरूको हकमा नागरिकताबाट वञ्चित गर्ने काम अब हुँदैन।’
मन्त्री श्रेष्ठले मिटरब्याजबाट पीडितहरूको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितका समस्या समाधान गर्ने तर्क गरे।
उनले भने‚ ‘मिटरब्याजबाट पीडितहरूको उजुरी हेर्न, कसले ठगी गरेको छ, कति ठगी गरेको हो ? भनेअनुसारको ठगी हो कि होइन? त्यो ठगलाई कति ठगिएको हो, त्यसबाट पीडितलाई न्याय दिने कुरामा सिफारिस गर्ने काम सबै विवरणसहित आयोगले काम गर्नेछ। यसलाई निर्णयको रूपमा त सरकारले अर्को प्रक्रियाबाट लागू गर्छ। आयोग भनेको कतिपयले अन्य आयोग जस्तै बुझ्छन्। यो आयोग हरेक मिटरब्याजी पीडितबाट उजुरी लिन्छ, छानबिन गर्छ, बयान लिन्छ र त्यसको आधारमा तथ्यसहित फैसला गर्छ।’
मन्त्री श्रेष्ठले आमजनताले निर्बाध रूपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको बताए। उनले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानूनको कठघरामा ल्याई दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिबद्धता जनाए। लागुपदार्थ दुर्व्यसनीको मात्रा बढेको र दलितमाथिको उत्पीडनका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा लाग्ने पनि बताए। उनले सरकारले जेल सुधार अभियान सञ्चालन गर्ने पनि बताए।
राष्ट्रिय परिचयपत्रको आवश्यकता पुष्टि गर्ने गरी काम अघि बढाउने पनि बताए
प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्