गोरखादेखि सुरु नेपाली सेनाको पद यात्रा बुटवलको जितगढीमा समापन

गोरखादेखि सुरु नेपाली सेनाको पद यात्रा बुटवलको जितगढीमा समापन

बुटवल – गोरखाबाट सुरु भएको पद यात्रा बुटवलको जितगढी आएर विहिबार आज समापन गरिएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते आज बुटवलको जितगढी आइपुगेको हो ।

 

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी ९श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख० र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको मध्यपश्चिम प्रितना केडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए । रुपन्देहीको टोलीले जितगढी विजय उत्सवको दिन पारेर वैशाख ७ गते आज जितगढी पुर्याएपछि कणेल उजिर सिंहको शालिकमा माल्याणपछि यात्राको समापन गरिएको हो ।

पाल्पाको नुवाकोटदेखि आएको टोलीलाई पुरानो बुटवलमा अवस्तिथ सिद्धिविनायक गणेश मन्दिरमासम्म बुटवल उपमहानगरका प्रमुख खेलराज र प्रितनापति यमप्रसाद ढकालसहितको टोली लिन पुगेको थियो । सो स्थानबाट विभिन्न जातीय तथा धार्मिक झाकँकी र बाजागाजासहित जितगढी किल्लामा आएर पदयात्राको समापन गरिएको थियो।

एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको प्रितनापती ढकालले बताए ।

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवर्द्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको प्रितनापति ढकालले बताए ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गरेको छ ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरुगरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । अन्यस्थानहरुमा बहादुरी देखाउँदा देखाउँदैपनि नेपाली फौज असफल भएपनि जितगढी किल्लाको फौज भने युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल भएको थियो । सो लडाँईमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए । समापनको अवसरमा ईतिहासका जानकार निर्मल श्रेष्ठले जित गढी किल्लाको बारेमा व्याख्या गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij