बुटवल
बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ।
बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो। शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको नि:शुल्क पोषण अबस्था परिक्षण पनि शुरु भएको छ।
शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पुर्याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताउनुभयो।
उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने बताउनुभयो।
‘हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं-उहाँले भन्नुभयो-यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ।’
उहाँले आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी गरिरहेको बताउनुभयो।
नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५-१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताउनुभयो।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्याल, स्थानीय आनन्दमान शाक्यलगायतले बोल्नुभएको थियो।
शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उहाँले बताउनुभयो।
शिविरमा ३०६ जनाले सेवा लिएका छन् भने ५७ जनालाई क्यान्सर हो कि होइन भनेर परीक्षणका लागि सिफारिश गरिएको छ । ४जनामा आङ खस्ने समस्याको उपचारका लागि रिङपेशरी लगाइएको छ । ६० जना बालबालिकाको पोषण जाँच गरिएकोमा ५ जनामा कुपोषित देखिएको, १५ जना जोखिममा रहेको, ७ जनामा ज्वरो र केहीमा छालासम्बन्धि रोग देखा परेको र थप उपचारका लागि सिफारिश गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्