बुटवल–मानवअधिकारकर्मी कृष्ण पहाडीले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। बुटवलमा रिर्पोटर्स क्लबको कार्यक्रममा बोल्दै उनले पर्यटनमन्त्री रविन्द्र अधिकारीले संसद्मा झुट बोलेको भन्दै बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका हुन्।
‘म रविन्द्र अधिकारीले भ्रष्टाचार गरे गरेनन् भन्न सक्दिन, यो कुरा खुल्दै जाला, वाईडवडी काण्डमा रविन्द्र अधिकारीले संसद्मा जे बोले त्यो झुट सावित भएको छ’, उनले भन, ‘संसद्लाई झुट कुरा बताउने व्यक्ति त्यो पदमा रहिरहन पाउँदैन, त्यसैले म भन्छु प्रधानमन्त्री केपी ओली ज्यू, रविन्द्रजीलाई तपाइँको क्याबिनेटबाट बाहिर निकाल्नुस।’
उनले संसदको सर्वोच्चता भएको मुलुकमा संसद्लाई नै झुट बोल्ने कुरा स्वीकार गर्न नसकिने बताए।
‘कुनैबेला उहाँले निम्तो दिएर म पनि पोखरा कार्यक्रममा गएको थिएँ, उहाँ अरु विषयमा त्यति नराम्रो हो भन्ने लाग्दैनथ्यो’, उनले भने, ‘तर उहाँ आफ्नै मान्छे भएपनि संसद्लाई झुटो बोल्नुभएको छ, प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ, प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नुभएन भने हामी प्रजातान्त्रिक परम्परा र संसदीय सर्वोच्चताको बारेमा हरेक निर्वाचन क्षेत्रमा आन्दोलन थाल्छौं, त्यति गर्दा पनि सुन्नुभएन भने हामी यसलाई विश्वव्यापी बनाउँछौं, आउँदो चुनाबमा प्रत्येक निर्वाचन क्षेत्रमा यही मुद्दालाई उठाउँछौं ।’
उनले यो विषयमा बल सरकारको कोर्टमा रहेको भन्दै सरकारलाई सही निर्णय गर्न सुझाव दिए । ‘प्रधानमन्त्रीज्यू, ईतिहासबाट पाठ सिक्नुस्, हामी कुनै कुराको मूल्य मान्यतामा चुकेका छौं भने छलफल गरौं’, उनले भने, ‘तर सत्ताको उन्मादबाट कसैको कुरा नसुनेर अवमूल्यन नगर्नुस्, भ्रष्टाचारको विषयमा अन्तरराष्ट्रिय रुपमै दबाब आयो भने हामीलाई गाली गर्न पाउनुहुन्न।’
मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले भ्रष्टाचार नियन्त्रणर्लाइ जोड दिन माग गरे । ‘केन्द्रमा वाईडबडीको कुरा नसकिदै प्रदेश ५ मा गाडी खरिदमा अनियमितता भएको खबर आइरहेको छ, उनले भने–यसरी जताततै भ्रष्टाचारको जालो फिँजाएर के गर्न खोजेको ?, यसले संघीयतालाई नै असफल बनाउने खतरा छ, प्रधानमन्त्री ज्यू बेलैमा सोच्नुस्।’
प्रदेश ५ मा गाडी खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै सरकारलाई दबाब दिन नागरिक समाजले आन्दोलन थाल्नुपर्ने बताए।

‘गाडी खरिदमा अनियमितता गर्नेहरुलाई तपाइँहरु अझै पनि प्रमुख अतिथि बनाएर बोलाइरहने ?’–उनले भने–‘यसमा जसले अनियमितता गरेको छ उसलाई कारबाही हुनुपर्छ, भ्रष्टाचार मौलाउन दिनुहुँदैन, बुटवलका नागरिक समाजका व्यक्तिहरुले खबरदारी गर्नुस्।’
सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई कर्मकाण्डी बनाइएको भन्दै संक्रमणकालीन अवस्थालाई टुंगोमा पुर्याउनका लागि चासो दिन उनले आग्रह गरे।
‘यो आयोग बनाउँदै कमजोर गरी बनाइएको छ, अहिले म्याद थपिएको छ, तर यसले जे काम गरेर शान्ति सम्झौताको मर्म पूरा गर्नुपर्ने थियो, त्यो गर्न खोजेको छैन’, उनले भने, ‘पदाधिकारीमा आफ्ना कार्यकर्ता भर्ती गरेर यसलाई कमजोर नबनाउनुस्, पीडकलाई संरक्षण गरेर पीडितलाई अवमूल्यन नगर्नुस्, शान्ति प्रक्रियालाई जसरी टुंगोमा पुर्याउने भनिएको छ त्यसैगरी पुर्याउनुस्।’
उनले शान्ति प्रक्रियाको एउटा पक्षले आममाफी दिने भन्दैमा शान्तिप्रक्रिया नटुंगिने बताए । ‘एकदुईजनालाई बैंकक घुमाएर आममाफी दिने भनेर हुँदैन’, उनले भने, ‘पीडकका बारेमा कुरै नगर्ने, अवमूल्यन गर्ने गर्न पाइँदैन ।’
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दलहरु मिलेर शान्ति सम्झौताअनुसार नै कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
‘जसरी शान्ति सम्झौता भएको थियो, उनी भन्छन्–त्यसैगरी शान्ति प्रक्रियाको काम टुंग्याउनुस् ।’
नेता पहाडीले भेनेजुएलाको विषयमा नेपाली पक्ष बोलेर कुटनीतिक कमजोरी देखाएको बताए । ‘सत्तारुढ दलको अध्यक्ष प्रचण्डले बोल्दा कुटनीतिक मुर्खता गरे’,उनले भने, ‘दुईवटा हात्ती लँड्दा मिचिने भनेको घाँस हो, हामी दुई हात्तीको बीचमा आएर आफ्नो कुटनीतिक कमजोरी देखाउनु आवश्यक छैन ।’
प्रकाशित मिति : शनिबार, माघ २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्