बुटवल,१३ कार्तिक ।
रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि यश क्षेत्रकै सर्वाधिक राशि पुरस्कारको अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
सैनामैना स्थित दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने आयाेजकले जनाएका छन् ।
आयोजक दुधराक्ष युवा क्बलले साेमबार पत्रकार सम्मेलनकाे आयोजना गरि प्रतियोगिताकाे तयारी बारे जानकारी गराएको हो ।
सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए । यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताए । बिस २०७३ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसँगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको उनले बताए । क्लब स्थापना भएसंगै युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउदै आएको उनले बताए । छात्रवृत्ति वितरण, ट्राफिक सचेतना, लागुऔषध दुब्यसनी, रक्तदान, वृक्षारोपण, निशुल्क स्वस्थ्य शिविर गर्दै आएको उनले बताए ।
पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले नेपालको भू–बनोटलाई सुहाउने, हिमाल, पहाड, तराईमा खेल्न सकिने खेल भएको बताए । युवाहरुलाई रचनात्मक बनाउने र स्वदेशमा अडाउने गरि योजना ल्याउन जरुरी रहेको उनले बताए । केन्द्र सरकारबाट विनियोजन हुने बजेट कम हुँदा आफ्नो पालिकामा खेलकुदको बजेट संकुचन गर्न परेको दुखेसो गर्दै क्लबबाट सैनामैनाको पहिचान हुने गरि आयोजना हुन लागेको प्रतियोगितालाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उपप्रमुख बिना रानाले नगरको खेल विकासमा आफू संस्थागत रुपमा लागेको बताईन ।
कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून हुँदा सोचेजस्तो सफलता हात पार्न नसकेको बताए ।
सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गरेका छन । लुम्बिनी प्रदेश र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताए ।
प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्