लुट्न सके लुटमाथि सरकारको प्रतिबन्ध ! सरकारलाई किन भयो भारी ?

लुट्न सके लुटमाथि सरकारको प्रतिबन्ध ! सरकारलाई किन भयो भारी ?

सिर्जनामा सत्तालाई आत्थु–आत्थु पार्ने शक्ति हुन्छ वा त्यो ताप हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण पशुपति शर्माको लोक गीत ‘लुट्न सके लुट कान्छा’ बनेको छ ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भन्ने नारा अहिलेको सरकारले मात्रै होइन यसअघिका सरकारले पनि रट्दै आएका थिए । तर भ्रष्टाचार रोकिने होइन, भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चोखो रहन सकेन ।

राज्य कोषको दुरुपयोग, आफ्नो हितका लागि राज्य कोष खर्च गर्ने तथा तस्करी एवम् घुसकाण्डहरु बिस्तार हुँदै गए । यहि परिवेशलाई चित्रित गरेर पशुपति शर्माले व्यंग्यात्मक शैलीमा सिर्जना गरेको गीत थियो, ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईँदैन नेपालमै हो छुट’ ।

तर लुट र छुटको गाथाको रुपमा दर्शक–स्रोताले मन पराएको गीत सरकारका लागि भने गम्भीर आपत्ति र आफ्नो वास्तविकताको चित्रण बन्यो सायद । यहि कारण सरकारले पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगायो । गायक–सर्जक शर्मा युट्युबबाट गीत हटाउन बाध्य भए ।

भन्न त उनले परिमार्जन गरिएको गीत चाँडै ल्याउने भनेका छन् । तर अब आउँदा यो गीतमा व्यंग्य गर्न खोजिएका विषयहरु सायद ओझेलमा पर्ने छन् ।

तर सरकार एउटै गीतबाट आत्तालिएको जस्तो देखिएको विश्लेषण भने भएका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यो गीतबारे प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको र हटाउन दबाब दिइएको बताइन्छ ।

पछिल्लो समय एकपछि अर्को भ्रष्टाचार काण्ड, तस्करी तथा बलात्कारका पीडक लामो समयसम्म पनि पक्राउ पर्न नसक्नुसहितका सामाजिक विकृति बढ्दै गएका बेला त्यसको चित्रको रुपमा गीत बनेको थियो । यहि गीत समाजको चित्र भन्दा पनि सरकारका लागि आफ्नो वास्तविकताको कारण बनेको देखिएको छ ।

गीतमाथि प्रतिबन्ध यसअघि पनि विभिन्न समयमा लाग्दै आएका हुन्, तर यसअघि प्रायः रेडियो नेपालले प्रशारणमा प्रतिबन्ध लगाउने गरेको थियो ।

यस्तै कलाकारलाई सार्वजनिक कार्यक्रममा गाउन वा प्रस्तुत गर्न नपाउने गरी रोक लाग्ने गरेको थियो । सम्भवतः यो पहिलो घटना हो, जसमा सीधै सरकारले गीतमाथि प्रतिबन्ध लगायो र सर्जक त्यसलाई हटाउन बाध्य भए ।

गीतमा प्रयोग भएका केही शब्दहरु असहज हुन सक्छन्, त्यसलाई सुधारका लागि भन्नु र भन्न खोजेका कुरालाई आफ्ना लागि सुझावका रुपमा लिनु सरकारको समझदारी हुने थियो । तर प्रतिबन्धले सरकार एउटै गीतबाट डराएको प्रष्ट देखिएको छ ।

स्मरण गर्नु पर्ने यो पनि छ कि, अहिले प्रतिबन्धित भएको गीतका सर्जक पशुपति शर्माले नै केही वर्षअघि गाएको ‘मलाई अमेरिका यहि’ गीत हो ।

यो गीत सरकारकै कति मन्त्रीहरुले नै आफ्ना कुरा बुझाउन र विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा प्रयोग गरेका थिए र अब पनि गर्ने छन् ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij