तत्कालै हिउँदे वर्षाको सम्भावना न्यून छ : मौसमविद्

तत्कालै हिउँदे वर्षाको सम्भावना न्यून छ : मौसमविद्

काठमाण्डाै – हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराई/मधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ ।

 

जनकपुरमा हिजो उच्चतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस, विराटनगरमा २७ दशमलव ८ डिग्री, धरानमा २६ दशमलव ८ डिग्री, भैरहवामा २६ दशमलव ६ डिग्री र नेपालगञ्जमा २६ डिग्री सेल्सियस मापन भएको छ । आज बिहान काठमाण्डौकाे न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

 

सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

 

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन ।

 

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहेको छ । जनवरी पहिलो हप्ता अर्थात् आउँदो सोमवारदेखि पानी पार्ने प्रणाली भित्रिन सक्ने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij