संसद बैठक : गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी गराउन कांग्रेसको माग

संसद बैठक : गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी गराउन कांग्रेसको माग

काठमाडौं
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद केसीले उक्त माग गरेका हुन् ।

देशको गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको भन्दै उनलेे त्यस्तो कार्यमा संलग्न सांसदकाे बारेमा जानकारी गराउन सभामुखले सरकारलाई रूलिङ गर्न माग गरे ।

‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो । यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन्,’ उनले भने ।

नागरिकहरु त्यस्तो सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए । अगाडि भनेका छन्, ‘यही संसदमा गोप्य सूचना बेच्ने सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने यो अत्यन्त गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो गोप्य सूचना बेच्ने यसको जानकारी चाहियो ।’

यो विषयमा सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ । अगाडि भन्छन्, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुपर्‍यो ।’

यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताएका थिए ।

त्यसदिन उनले भने, ‘दुई-तीनवटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाऊँ, संसदबाट हटाऊँ । त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री नै किन नहोस् ।’

गृहमन्त्रीको यो अभिव्यक्तिका सम्बन्धमा कांग्रेसका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij