काठमाडौँ : नेपाल सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले राजनीतिक भागबण्डा लगाउँदै राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। यसअघि हिजो बिहीवार राजदूतको भागबण्डाका विषयमा सत्तारुढ तीन दलका शीर्ष नेताबीच सहमति भएको थियो।
पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन्। उनी एमालेको कोटाबाट यसअघि बेलायतका राजदूत बनेका थिए। यसैगरी चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका जनाइएको छ।
माओवादी कोटाबाट डा. विजय पन्त बेलायतका लागि सिफारिस भएका छन्। त्यसैगरी पुष्पराज रञ्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए। उनीहरूलाई संसदीय सुनुवाइपछि नियुक्ति गरिने छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै कानूनमन्त्री गिरीले सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको जानकारी दिए।
यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने, प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय भएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्