प्रहरी सङ्गठन सुदृढ गर्ने नयाँ ऐनको मस्यौदा बनिसक्यो : गृहमन्त्री लेखक

प्रहरी सङ्गठन सुदृढ गर्ने नयाँ ऐनको मस्यौदा बनिसक्यो : गृहमन्त्री लेखक

काठमाडौँ 

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अघि बढाएको बताएका छन्।

६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित  समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरे।

नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए।

राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताए।

“स्थापनाकालदेखि विविध प्रकृतिका घटनाक्रमका तीतामिठा अनुभव र अनुभूति प्रहरी सङ्गठनसँग रहेका छन्”, उनले भने, “तत्कालीन सशस्त्र द्वन्द्वको समयमा अग्र भागमा नेपाल प्रहरी रहेको थियो, नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई शान्तपूर्वक व्यवस्थापन गर्न यो सङ्गठन अग्रभागमा रहेको इतिहास हामीसामु छ।”

मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा  उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढी पहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले उल्लेख गरे।

“हरेक कालखण्डमा नेपाल प्रहरीले कर्तव्यबोधका साथ जुन जिम्मेवारी निर्वाह गरी आएको छ, ती योगदानहरू ज्यादै नै प्रशंसनीय छन्। अनुभवी, सबल र सक्षम नेपाल प्रहरीले जुनसुकै सुरक्षा चुनौतीलाई सहजरुपमा सम्बोधन गर्न सफल हुनेविश्वास छ”, उनले भने।

 

प्रकाशित मिति : बुधबार, असोज ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij