“आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा ८२ दशमलव ७२ प्रतिशत मात्र राजस्व सङ्कलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखीआएको छ”, महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा भनिएको छ ।
यसरी लक्ष्यअनुसार राजस्व उठ्न नसकेका कारण प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा चौथो त्रैमासिक किस्ताबापत विनियोजित रकमको २० दशमलव २८ प्रतिशतले हुन आउने रकम मात्रै हस्तान्तरण गर्न भनिएको हो ।महालेखा नियन्त्रक कार्यालयको परिपत्रलाई आधार मान्ने हो भने यस वर्ष प्रदेश तथा स्थानीय तहहरूले कूल स्वीकृत वार्षिक बजेटमध्ये चौथो किस्तासम्मको ९१ दशमलव ७६ प्रतिशत बराबर मात्रै बजेट पाउनेछन् ।
यसअघि अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकममा पनि कटौती गरेको थियो । गत माघ २९ गते महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै तेस्रो किस्ताबापतको वित्तीय समानीकरण अनुदानमा २५ प्रतिशतमध्ये १३ दशमलव २४ प्रतिशतअर्थात् वार्षिक बजेटको ६३ दशमलव २४ प्रतिशत नबढ्ने गरी बजेट निकासा गर्न भनेको थियो ।
प्रदेश तथा स्थानीय तहको चर्को विरोधपछि महालेखा नियन्त्रक कार्यालयले त्यसलाई संशोधन गरेर गत फागुन १३ गते अर्को परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको भुक्तानी हुने रकम केही बढाएको थियो । जसअनुसार तेस्रो किस्ताबापतको २५ प्रतिशतमध्ये २१ दशमलव ०८ प्रतिशतअर्थात् कूल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७१ दशमलव ०८ प्रतिशत नबढ्ने गरी वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन भनेको थियो ।
वित्तीय समानीकरण अनुदान कटौतीबाट स्थानीय तहहरूलाई स्रोत व्यवस्थापनमा ठूलो चुनौती सिर्जना हुने नेपाल नगरपालिका सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । गत वर्ष पनि सरकारले अनुदान कटौती गर्ने निर्णय पछि गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका सङ्घलगायतले विरोध जनाएको स्मरण गर्दै उपाध्यक्ष सापकोटाले अनुदान कटौती हुन कार्यान्वयन चरणमा गएका कामको भुक्तानीमा गम्भीर समस्या देखिने बताए ।
“अधिकांश स्थानीय तहको आन्तरिक स्रोत कमजोर छ । सङ्घ सरकारले पहिले बजेट पठाउने तर पछि कटौती गर्ने निर्णय गर्दा झन ठूलो समस्या सिर्जना भएको छ । अनुदान कटौती हुने हो भने काम भइरहेका योजनामा भुक्तानी गर्न सकिँदैन”, उनले भने । वित्तीय समानीकरण अनुदान कटौती पछि कसरी अघि बढ्ने भनेर नगरपालिका सङ्घभित्र आपसी छलफल भइरहेको पनि उनको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्