बुटवल उपमहानगरपालिका–१५ मैनापुरमा रहेको सिद्धि विनायक सेकेन्डरी स्कुलले विद्यार्थीलाई बधाई शुभकामना तथा र्याली कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत सफलता हासिल उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मानस्वरूप कार्यक्रम गरेको हो। विद्यालयबाट यस वर्ष एसईईमा सहभागी भएका ३० जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने तीमध्ये स्वेता शर्माले ग्रेड बिन्दु औसत (जीपीए) ४ ल्याउन सफल भएकी छिन्।
विद्यालयले नतिजा सार्वजनिक भएलगत्तै विद्यार्थीहरूको सम्मानमा विशेष कार्यक्रम तथा विजयी र्याली आयोजना गरेको थियो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई खादामालाले लगाई बधाई तथा शुभकामना दिइएको थियो। त्यसपछि विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयको सहभागितामा नगर परिक्रमा गरिएको थियो।
श्रेणीगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा स्वेता शर्मासँगै संस्कृति केसि,कृति बि क ,अस्मी सापकोटा, दिया सापकोटा, अभिषेक भुसाल ,कल्पना खनाल र सुजन सापकोटा रहेका छन्। ती सबै विद्यार्थीहरू उत्कृष्ट जीपीए ल्याएर विद्यालयको शैक्षिक गुणस्तर पुष्टि गर्न सफल भएका छन्।
जीपीए ४ ल्याउने शवेता शर्माले आफूले हासिल गरेको सफलता व्यक्तिगत मात्र नभई सामूहिक प्रयासको प्रतिफल भएको बताइन्। “शिक्षकहरूको मार्गदर्शन, साथीसँगको छलफल, र अभिभावकको साथले मलाई यहाँसम्म ल्यायो,” उनले भनिन्, “घोकन्ते होइन, बुझेर पढ्ने बानीले सफलता दिलायो।”
विद्यालयका प्रधानाध्यापक खुमानन्द वागले यस वर्षको नतिजाले विद्यालयको इतिहासमा नयाँ अध्याय थपेको बताए। “२०५७ सालमा स्थापना भएको यो विद्यालयको यस्तो नतिजा पहिलोपटक हो। यो नतिजाले विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रधानमा केन्द्रित हुन हौसाएको विद्यालयका प्रधानाध्यापक वाग्लेले बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा अभिभावकहरूले पनि शतप्रतिशत नतिजालाई विद्यालयको गौरवको रूपमा लिएको जनाइएको छ।
तीनाउ पारीमा अवस्थित यस विद्यालयको सफलतालाई विशेष अर्थमा हेरिएको छ। बुटवल शहर विगतदेखि नै खोलाको वारी–पारी विभाजनको चस्माबाट हेर्ने गरिए पनि, सिद्धि विनायक सेकेन्डरी स्कुलले शैक्षिक क्षेत्रमा तिनाउ पारीको सम्भावनालाई मूर्तरूप दिँदै नतिजा मार्फत गौरव स्थापना गरेको छ।
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्