सुदूरपश्चिम , सुदूरपश्चिम प्रदेशसभा मुख्यमन्त्री कमलबहादुर शाहाले आज विश्वासको मत लिँदै छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहले विश्वासको मत लिन लागेका हुन् ।
यसै बीच नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ । संसदीय दलको कार्यालय धनगढीमा बुधबार बसेको बैठकपछि प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको सो दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।
नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय यसअघि गरेको थियो । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ । नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्तापक्षीय दल कांग्रेस र एमालेसँग प्रदेशसभामा बहुमत कायम छ । नाउनपाबाट सरकारमा सहभागी मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरिएपछि बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन् । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्वित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।
प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्