काठमाडौँ — सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका निलम्बित मेयर थापालाई विशेष अदालतले बिहीबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजाय तोकेको हो ।
यस्तै १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम थापाबाट असुलउपर हुने फैसला गरेको हो ।
सोही भ्रष्टाचार मुद्दामा बागमती नगरपालिकाकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल र पालिकाका योजना प्रमुखसमेत रहेका इन्जिनियर सागर पौडेललाई पनि जनही ८ वर्ष कैद, १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना र त्यत्ति नै रकम असुलउपर हुने गरी सजाय निर्धारण भएको हो ।
बागमती नगरपालिकामा भरतताल र यससँग सम्बन्धित विभिन्न भौतिक संरचना निर्माण गर्ने आवरणमा निर्माणजन्य पदार्थ बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना अभियोगमा अख्तियारले जिल्ला समन्वय समितिका अध्यक्ष मेथुर चौधरी, मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल, इन्जिनियर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, हिनामिना भएको रकम असुलउपर र कैद सजाय मागदाबीसहित २९ जेठ २०८१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको किनारा लगाउँदै विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य ९न्यायाधीश०द्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गत २१ साउनमा मेयर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेल र इन्जिनियर पौडेललाई दोषी ठहर र बाँकी तीनजनालाई कसुरबट सफाई दिएको थियो ।
दोषी ठहर तीनैजनाविरुद्ध बिहीबार विशेषले सजाय निर्धारण गर्दै मागदाबी गरिएको बिगो रकम तीनैजनालाई दामासाही गरेर जनही ८ वर्ष कैद तथा जरिवानाको हकमा समान १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ र त्यति नै रकम असुलउपर गर्ने गरी आदेश दिएको हो । सार्वजनिक सम्पत्ति हानिनोक्सानी मुद्दाबाहेक थापाविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा भने विशेषले २१ साउनमै दोषी ठहर गर्दै थापाविरुद्ध एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ जरिवाना हुने फैसलाले गरिसकेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्