काठमाडौँ , बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि जापान सरकारले दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ।
हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो। उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।
गत वर्षको बाढीपहिरोका कारण सो राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो। विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्ण रुपमा क्षति भएको थियो। क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारबाट सहयोग प्राप्त भएको मन्त्रालयको भनाइ छ।
सोही समारोहमा अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच हस्ताक्षर भयो।
समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापनबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको बताए।
जापानी राजदूत तोरुले जापानले प्रदान गरेको अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरु पुनःस्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। उनले नेपाल र जापानबीच रहेको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्ध स्मरण गरे। जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकीले नेपाल–जापान सम्बन्ध र सहयोगका विविध क्षेत्रबारे धारणा राखे।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्