काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले मंसिरको ५ र ६ गते राजधानीमा हुने ऊर्जा सम्मेलन विद्युत् व्यापार र लगानी भित्र्याउनेमा केन्द्रित हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। इप्पान ले ऊर्जा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्मेलन क्षेत्रीय विद्युत् व्यापार र नेपालको जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा केन्द्रित हुने जानकारी दिनुभयो । ‘यो सम्मेलनपछि विद्युत्को क्षेत्रीय व्यापारको ढोका खुल्नुका साथै नेपालमा जलविद्युत् क्षेत्रमा भारत र बंगलादेशको लगानी भित्रिने अपेक्षा गरेका छौं,’ उनले भने, ‘दुई दिन चल्ने सम्मेलनमा १० भन्दा धेरै सेसन हुनेछ।’
उहाका अनुसार सम्मेलनमा अन्तरदेशीय प्रसारण लाइन, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजना सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शन लगायत विषयमा छलफल गरिनेछ। सम्मेलनमा नेपालका विभिन्न जलविद्युत् आयोजना सोकेसमा राखिने आयोजकले जनाएको छ।अध्यक्ष गुरागाईंले सम्मेलनमा बिजनेस टू बिजनेस मिटिङ हुने बताए। ‘सम्मेलनमा आधा दर्जनभन्दा धेरै विद्युत् व्यापारसम्बन्धी सम्झौता गर्ने कार्यक्रम छ,’ उहाले भन्नुभयो ‘यसले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको बिजुली सोझै विदेशमा निर्यात गर्ने ढोका खोल्नेछ।’ सम्मेलनमा भारतका जलशक्ति मन्त्री, बंगलादेशका शक्ति खनिज संसाधन राज्यमन्त्री समेत सहभागी हुनेछन्।
सम्मेलनमा विशेषगरी भारत, बंगलादेश, चीन, नेदरल्यान्ड, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा लगायत देशबाट सात सय ५० भन्दा धेरै प्रतिनिधिको सहभागिता हुनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
इप्पानका महासचिव आशिष गर्गले सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो। महासचिव गर्गले सम्मेलनले भारत र बंगलादेशसँगको विद्युत् व्यापारको ढोका खोल्ने दाबी गर्नुभयो । ‘अहिलेको सम्मेलनमा आधा दर्जनभन्दा धेरै सम्झौता गर्ने कार्यक्रम तय भएको छ,’ उहाले भन्नुभयो, ‘जसले गर्दा विद्युत् व्यापारमा धेरै सहज हुने अपेक्षा राखेका छौं।’
इप्पान उपाध्यक्ष कुमार पाण्डेले नेपालको नवीकरणीय ऊर्जा खरिद गर्न भारत र बंगलादेशका निजी क्षेत्र इच्छुक भएको बताउनुभयो।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्