नेपाललाई दिगो अर्थतन्त्रतर्फ अघि बढाउने साझा प्रतिबद्धता

नेपाललाई दिगो अर्थतन्त्रतर्फ अघि बढाउने साझा प्रतिबद्धता

बुटवल-नेपाललाई दिगो अर्थतन्त्रतर्फ अघि बढाउने साझा प्रतिवद्धता सहित बुटवलमा आयोजना गरिएको ‘कन्क्लेभ सर्कुलर इकोनोमी–२’ सकिएको छ । युरोपेली युनियनको वित्तिय सहयोगमा इम्प्याक्ट हव एशोसियन, इम्प्याक्ट हव काठमाण्डौ र डब्लु.सि.एन.द्वारा सञ्चालित रुट्स अफ सर्कुलरिटी परियोजना मार्फत कन्क्लेभ सर्कुलर इकोनोमी–२ गरिएको हो ।
नेपाललाई दिगो र पुनर्जन्मशील अर्थतन्त्रतर्फ लैजाने लक्ष्य सहित आयोजना गरिएको २ दिने ‘कन्क्लेभ सर्कुलर इकोनोमी–२’ कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले मुलुकको समृद्धिको लागि अर्थतन्त्रको विकास हुनुपर्ने र अर्थतन्त्रको विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासका लागि उद्यमशिलता विकास र त्यसका लागि पनि औद्योगिक वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो ।
औद्योगिक वातावरणका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै त्यो सहकार्यका लागि प्रदेश सरकार र मन्त्रालयको तहबाट आफू सधै तयार रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले उद्यमशिलता विकासका कार्यक्रम ल्याएको बताउँदै ती कार्यक्रम निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढाउन चाहेको समेत उल्लेख गर्नुभयो ।
त्यसैगरी नेपालका लागि युरोपियन युनियनका राजदुत मारिया भेरोनिक्यु लोरेन्जोले नेपालको अर्थतन्त्र सुधारका लागि उद्यमशिलता विकास गर्ने उद्देश्लेयले सहयोग गरिएको र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले मुलुकको हरित अर्थतन्त्र निर्माणका लागि उद्यमशिलता विकास नै महत्वपूर्ण रहेको बताउँदै नवउद्यमीलाई उद्यमशिलता प्रवद्र्धनका लागि पैरवी गरेर यो संस्थाले उदाहरणीय काम गरेको भनाई राख्नुभयो । त्यसैगरी लुम्बिनी विश्वविद्यालयका डिन मणिकरत्न शाक्यले उद्यमशिलता विकासका लागि शिक्षालाई सीप र सीपलाई उद्यमसंग जोड्ने कार्यक्रम आवश्यक रहेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण त्यती राम्रो नभएको बताउँदै लगानीको सुनिश्चितता र औद्योगिक व्यवसायीमैत्री वातावरणमा जोड दिनुभयो । उहाँले तथापी उद्यमशिलता विकासका लागि निजी क्षेत्रबाट धेरै प्रयासहरु भईरहेको बताउँदै बुटवल उद्योग वाणिज्य संघले पनि उद्यमशिलता विकासकै लागि विजनेश इन्कुवेशन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो ।
कार्यक्रममा जनप्रतिनीधि, सरकारी कर्मचारी, निजी क्षेत्रका अगुवा, नागरिक समाज, शिक्षाविद् तथा युवाहरू सहभागि थिए । त्यसैगरी लामो तयारीपछि २५ भन्दा बढी हरित उद्यम, विश्वविद्यालय तहका विद्यार्थी समेत गरी करिव ३ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा उत्पादनको (डिजाइनदेखि उपभोग र पुनःप्रयोगसम्म) जीवनचक्र, दिगो र जिम्मेवार बनाउने उपायहरू, उपभोगमा चक्रिय अर्थतन्त्रका सिद्धान्तअनुसार सजिलो र व्यवहारिक दिगो छनोट कसरी गर्न सकिन्छ र निजी क्षेत्रसँग सहकार्यका सवालमा घनिभूत छलफल गरिएको डब्लु.सि.एन.का सिनियर प्रोग्राम अफिसर राजेश्वर रिजालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार दिगो विकास र वातावरणीय संरक्षणसँग मेल खाने नयाँ नीतिगत सम्भावनाहरूबारे अर्थपूर्ण छलफल भएको छ, जसले नेपालको अर्थतन्त्रलाई समेत गति दिनेछ । युरोपियन युनियनको सहयोगमा प्रमुख तीन परियोजनाहरु रुट्स अफ सर्कुलरिटी, सम्वद्र्धन परियोजना र ग्रिन सिफ्ट कार्यक्रम सञ्चालनमा छन् । यी तीनै परियोजनाले नेपाललाई स्रोत–कुशल, पुनर्जन्मशील र दिगो अर्थतन्त्र तर्फ रूपान्तरण गर्ने राष्ट्रिय यात्रामा योगदान गरिरहेका छन् ।
रुट्स अफ सर्कुलरिटीमा हरित उद्यम, शिक्षा र नीति संवादलाई जोड दिइन्छ । सम्वद्र्धन परियोजनामा दिगो प्राकृतिक–स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण, तथा समुदाय–आधारित हरित जीविकोपार्जन प्रवद्र्धन र ग्रीन शिफ्ट कार्यक्रममा रिसाइक्लरहरूलाई सशक्त बनाउँदै, प्लास्टिकको वैकल्पिक उद्यमलाई प्रवद्र्धन गर्दै, तथा युवाहरू र स्थानीय सरकारलाई संलग्न गराई फोहोर व्यवस्थापनमा जोड दिइन्छ ।
त्यस अवसरमा कन्क्लेभ सर्कुलर इकोनोमी १ र २ अन्तरगत सञ्चालित विजनेश इन्कुवेशनमा सहभागि सहितका २६ वटा नवउद्यमीका उद्योगका उत्पादनहरुको प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीको स्थलगत अवलोकन गर्दै मन्त्री न्यौपानेले प्रतिस्पर्धी क्षमताको बस्तुको उत्पादनले व्यक्तिको जीवनस्तरसंगै मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij