भैरहवा, नेकपा एमाले बाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचा नियन्त्रण र सन्तुलित विकास आम नागरिकले अपेक्षा राखेको बताउनुभएको छ । उहाँले यी अपेक्षा पूरा गर्न आफूले डटेर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ को निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्नुहुँदै घिमिरेले यो क्षेत्रसँग जोडिएका समग्र कामहरुको नेतृत्व गर्ने बताउनुभयो । यस क्षेत्रका नागरिकले भोगेका तमामा समस्या संसद्मा लगेर मुखारित गर्ने कुराको नेतृत्व गर्ने उहाँको भनाइ छ । नेकपा एमाले ले लिएको लक्ष्य, नीतिले देशको विकास हुने भएकाले आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन घिमिरेले आग्रह गर्नुभयो । त्यस्तै एमाले क्षेत्रीय कमिटी सदस्य तथा वडाको निर्वाचन परिचालन समितिका संयोजक राम दयाल गुप्ताले घरदैलोमा जाँदा बासुदेव घिमिरेलाई मतदान गर्ने मतदाताको बुझाइ रहेको पाइएको बताउनुभयो । तिलोत्तमा नगरपालिकाको संस्थापक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दा बासुदेव घिमिरेले राम्रो काम गरेर तिलोत्तमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुनुभयो । ‘२०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्नुभएका घिमिरे अत्याधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा उहाँ निर्वाचित हुनुभयो । राम्रो काम गरेकै कारण उहाँ विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ, ’गुप्ताले भन्नुभयो । एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ कमिटीको उपाध्यक्ष अनिता थापाको स्वागत तथा अध्यक्ष मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मंगलबार वडा नम्बर ६ का विभिन्न टोलमा पुगेर घरदैलो कार्यक्रम गरिएको वडा कमिटीका सचिव आनन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्