रुपन्देहीको सुद्धोदनमा सुकुम्बासी आन्दोलन, ७ दिने अल्टिमेटमसहित बुझाए ज्ञापन पत्र

रुपन्देहीको सुद्धोदनमा सुकुम्बासी आन्दोलन, ७ दिने अल्टिमेटमसहित बुझाए ज्ञापन पत्र

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलित बनेका छन् । उनीहरुले गाउँपालिकाले निर्णय सच्याउनुपर्ने भन्दै एक सताको अल्टिमेटमसहित सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

गाउँपालिकाले संघीय सरकार तथा विभागीय मन्त्रालयहरुको निर्देशन बमोजिम सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै त्यस्ता ठाउँहरुमा बनेका संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार गाउँपालिकामा रहेका हजारौं सुकुम्बासीहरुको घरमा डोजर चल्ने भएपछि निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र दिइएको संघर्ष समितिका संयोजक पुण्यराम गौतमले बताए ।

उनका अनुसार सुद्धोदनमा १० हजार बढी घर परिवारको सुकुम्बासी जग्गा रहेको छ । सार्वजनिक जग्गा संरक्षणका नाममा डोजर आतंक मच्चाएर नागरिकलाई त्रसित पार्ने काम गलत भएको उनले बताए । ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै संयोजक गौतमले लिपुलेक, सुस्ता लगायत नेपालका सीमा क्षेत्रमा तैनाथ हुनुपर्ने सुरक्षाकर्मी र डोजर गरिवको बस्तीमा चलाएर सरकारले ठूलो गल्ती गरेको टिप्पणी गरे ।

यसैगरी कोणसभामा बोल्दै कोपिला सापकोटाले स्थानीय सरकारले सुकुम्बासीको घर नभत्काउने आश्वासन दिएपनि विश्वस्त हुने आधार भने नभएको गुनासो गरिन् । यदि कुनै पनि भूमिहिन तथा सुकुम्बासीको घरमा डोजर चलेमा आफूहरु चुप लागेर नबस्ने उनले बताइन् । यस्तै मानबहादुर बुढाथोकी, मोतिबहादुर थापा लगायतले बोल्दै ७ दिन भित्रमा गाउँपालिकाले जारी गरेको सूचना तथा निर्णयहरु फिर्ता नगरे कडा आन्दोलनमा जाने चेतावनी दिए । उनीहरुले जनताको माग सुनुवाई नभए हजारौं संख्यामा सहभागी भएर गाउँपालिमा रहेको निर्णय पुस्तिकालई च्यात्न समेत पछि नपर्ने चेतावनी दिए ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले आफू जनताको पक्षमा रहेको बताउँदै गाउँपालिकाको तर्फबाट जनतालाई आतंकित पार्ने कुनै पनि गतिविधि नहुने स्पष्ट पारे । संघीय सरकारको सर्कुलर अनुसार आफूहरुले सूचना जारी गर्न बाध्य भएको बताउँदै बस्यालले भूमिहिन दलित, भूमिहिन सकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई न्यायपूर्ण व्यवस्थापनको पक्षमा आफू रहेको उल्लेख गरे ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij