बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र उत्पादित स्वास्थ्यजन्य फोहरको सुरक्षित र वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिका वडा नं. १३ बेलबासमा स्थापना गरिएको उक्त केन्द्रको बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अस्पतालजन्य फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वर्तमान अवस्थामा यो प्रशोधन केन्द्र सञ्चालनमा आउनु मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको बताए।उनले प्रारम्भिक चरणमा बुटवलमा सञ्चालित १९ वटा शहरी स्वास्थ्य केन्द्रबाट निस्कने फोहर प्रशोधन गरिने र आगामी दिनमा रुपन्देही जिल्लाभरका स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन गर्ने गरी वृहत् योजना बनाइएको जानकारी दिए। उनका अनुसार अस्पतालबाट निस्किने फोहरमध्ये करिब ८० प्रतिशत फोहर प्रशोधन केन्द्रमै नष्ट गरिनेछ भने संक्रमणमुक्त पारिएको बाँकी २० प्रतिशत मात्रै डम्पिङ साइटमा पठाइनेछ, जसले संक्रमण नियन्त्रणसँगै स्वच्छ वातावरण कायमराख्न ठूलो मद्दत पुर्याउनेछ।
प्रतिघण्टा २५ केजी फोहर प्रशोधन गर्ने क्षमता रहेको यस अत्याधुनिक मेसिनमार्फत संकलित स्वास्थ्यजन्य फोहरलाई उच्च तापक्रममा जलाएर खरानीमा परिणत गरिनेछ। यस प्रविधिले स्वास्थ्य संस्थाबाट फैलिन सक्ने सम्भावित रोग र संक्रमणको जोखिमलाई शून्यमा झार्ने विश्वास लिइएको छ। कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिका क्षेत्रभित्र रहेका १०० बेडभन्दा माथिका ठूला अस्पताल तथा अन्य साना स्वास्थ्य संस्थाहरूलाई पनि आफ्नै स्तरमा यस्तै प्रकारका आधुनिक फोहर प्रशोधन मेसिन जडान गर्न आग्रह गर्दै स्वास्थ्य क्षेत्रले फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। यसैगरी प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले सोझै डम्पिङ साइटमा लैजान नमिल्ने जोखिमयुक्त स्वास्थ्यजन्य फोहरलाई अब सुरक्षित रूपमा प्रशोधन गरेपछि मात्रै विसर्जन गरिने स्पष्ट पारे। उनले यो प्रविधिले बुटवललाई स्वच्छ र स्वस्थ वातावरणयुक्त सहर बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नगरमा रहेका निजी स्वास्थ्य संस्थाहरूबाट निस्किने फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाले छिट्टै विशेष योजना ल्याउने तयारी गरिरहेको समेत जानकारी दिए।
कार्यक्रममा जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले सुरक्षित व्यवस्थापनले नागरिक स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए । मेशिन जडान गर्ने न्यूस्टर कम्पनीका प्राविधिक तथा प्रतिनिधि उमंग लामिछानेले आधुनिक प्रविधिमा आधारित यो प्रणाली सुरक्षित र वातावरणमैत्री रहेको दाबी गरे।
बुटवल उपमहानगरपालिकाभित्र करिब एक हजार स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेको अनुमान गरिएकाले दैनिक निस्कने ठूलो परिमाणको फोहर व्यवस्थापन गर्न अब उपमहानगरले स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी फोहरको वर्गीकरण, संकलन तथा एकीकृत व्यवस्थापन कार्यलाई नियमित र प्रभावकारी रूपमा अगाडि बढाउने तयारी गरेको छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्