काठमाण्डौ – सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
आज काठमाण्डौमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा। दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी सरकारले मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको मान्यता रहेको सचिव काफ्लेले बताउनुभएको छ ।
यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको भएको बताउनुभएको छ । उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
अध्यक्ष मगरले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीलाई पनि आग्रह गर्नुभयो ।
प्रकाशित मिति : बुधबार, असार १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्