पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग सिद्धार्थ सञ्जालको आग्रह ।

पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग सिद्धार्थ सञ्जालको आग्रह ।

 

बुटवल -सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट पूर्ण क्षमतामा नियमित अन्तर्राष्ट्रिय उडान तत्काल सञ्चालन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहितको टोलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल लाई ज्ञापनपत्र बुझाउँदै विमानस्थल सञ्चालनलाई राष्ट्रिय प्राथमिकतामा राख्न, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आवश्यक सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउन र नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न तत्काल परिणाममुखी पहल गर्न आग्रह गरेको हो।
अध्यक्ष अनिलकुमार ज्ञवालीले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रको अरबौँ रुपैयाँको लगानीबाट निर्माण भएको विमानस्थल अपेक्षाअनुसार सञ्चालन हुन नसकेको बताउनुभयो। विमानस्थल सञ्चालनको विश्वासमा होटल, रिसोर्ट, ट्राभल, रेष्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा गरिएको ठूलो लगानी अहिले जोखिममा परेको उहाँको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज तथा विभिन्न संघसंस्थाले पटक–पटक ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र दबाबमूलक कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। उहाँले यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल परिणाममुखी निर्णय गर्न सरकारसँग आग्रह गर्नुभयो।
ज्ञापनपत्रमार्फत सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान, अध्यागमन र श्रम स्वीकृति कार्यालयलाई पूर्ण क्षमतामा सञ्चालन, कार्गो सेवा, भिसा सेन्टर, नेपाल एअरलाईन्सको नियमित उडान, वैदेशिक रोजगारीमा जाने कामदारलाई भैरहवाबाटै उडानको व्यवस्था तथा विमानस्थललाई आर्थिक समृद्धि र पर्यटन विकासको केन्द्रका रूपमा विकास गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij