शिक्षा सुधारका लागि बुटवलमा २० सूत्रीय ज्ञापनपत्र

शिक्षा सुधारका लागि बुटवलमा २० सूत्रीय ज्ञापनपत्र

बुटवल , बुटवल उपमहानगरपालिका क्षेत्रका शिक्षाप्रेमी तथा अभिभावकहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारको माग गर्दै २० सूत्रीय ज्ञापनपत्र बुझाएका छन्। डा। शिशिर अर्यालको नेतृत्वमा गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीसमक्ष ज्ञापनपत्र बुझाउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको हो।

ज्ञापनपत्रमा बुटवललाई शैक्षिक हबका रूपमा थप सुदृढ बनाउन सरकारी तथा निजी विद्यालयको गुणस्तर अभिवृद्धि आवश्यक रहेको उल्लेख गरिएको छ। छात्रवृत्ति वितरणलाई नगरपालिकामार्फत एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने, शिक्षा क्षेत्रमा राज्यको कम्तीमा २० प्रतिशत बजेट लगानी सुनिश्चित गर्नुपर्ने, विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्थापन तथा विषयगत दक्ष शिक्षकबाट अध्यापन गराउनुपर्ने माग गरिएको छ।

त्यस्तै, विद्यालयमा स्वच्छ खानेपानी, सफा शौचालय, बालिकाका लागि महिनावारी प्याड, सुरक्षित पर्खाल, हरियाली तथा धुलोरहित खेलमैदानसहितको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, कक्षा ४ देखि नै आधुनिक प्रविधिमा आधारित शिक्षाका लागि कम्प्युटर ल्याब र दक्ष जनशक्ति उपलब्ध गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

अभिभावकहरूले निजी विद्यालयका शिक्षकहरूको सेवा–सुविधा, तलब तथा भविष्य सुनिश्चित गर्न पेन्सन र भविष्य कोषको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

शिक्षक–विद्यार्थीको उपस्थितिदेखि गृहकार्य, परीक्षा मूल्यांकन र अभिभावकलाई जानकारी दिने प्रणालीसम्म डिजिटल बनाउनुपर्ने प्रस्ताव पनि ज्ञापनपत्रमा उल्लेख छ। साथै नगरस्तरमा एकीकृत प्रश्नपत्र र अन्तरविद्यालय उत्तरपुस्तिका परीक्षण प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ।

ज्ञापनपत्रमा हाल लागू ‘नोफेल’ अवधारणाले विद्यार्थीको सिकाइ कमजोर बनाएको भन्दै नियमित स्तरवृद्धि परीक्षा सञ्चालन गर्नुपर्ने र प्रत्येक कक्षामा न्यूनतम ६० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने शैक्षिक मापदण्ड कायम गर्नुपर्ने माग गरिएको छ। प्रधानाध्यापक र शिक्षकलाई शैक्षिक कबुलियतनामामार्फत उत्तरदायी बनाउने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ।

यसैबीच अभिभावकहरूले छुट्टै निवेदनमार्फत कक्षा ७ र ८ का स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दासमेत उपलब्ध नभएको गुनासो गरेका छन्। पहिलो परीक्षा सुरु हुन लाग्दा पनि विद्यार्थी पुस्तकविहीन हुनु दुःखद भएको उल्लेख गर्दै आगामी वर्षदेखि शैक्षिक सत्र सुरु हुनासाथ पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै बुटवल उपमहानगरपालिकाले आगामी दसैंअघि नै सबै विद्यार्थीको हातमा स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाएको छ। साथै शिक्षा सुधारसम्बन्धी अन्य मागहरूबारे पनि चरणबद्ध रूपमा छलफल गरी कार्यान्वयन गर्ने आश्वासन दिएको छ।

ज्ञापनपत्रमा डा। अर्यालसहित कृष्ण खरेल, राजेन्द्र पौड्याल, सरोज खनाल, गोपाल काफ्ले, बुद्धिमणी भण्डारी, आमोद पोखरेल र कृष्ण बहादुर शाहीको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij