नेपाल सुनचाँदी व्यवसायी महासङ्घको वार्षिक साधारण सभा बुटवलमा हुँदै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको वार्षिक साधारण सभा बुटवलमा हुँदै

बुटवल – ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता, महासङ्घको प्रतिबद्धता’ भन्ने नारासहित नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १३औँ र १४औँ वार्षिक साधारण सभा शनिबार बुटवलमा हुने भएको छ। साधारण सभामा देशभरका करिब ७ सय सुनचाँदी व्यवसायी तथा प्रतिनिधि सहभागी हुने महासङ्घले जनाएको छ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। महासङ्घमा आबद्ध ८४ जिल्ला तथा नगर सङ्घ, विभिन्न वस्तुगत सङ्घ तथा २३ वटा एसोसिएट सदस्यका प्रतिनिधि, पर्यवेक्षक र सदस्यहरू साधारण सभामा सहभागी हुनेछन्।

महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष सुरजकृष्ण वैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन हुने जानकारी दिए। उद्घाटन समारोहमा मन्त्रीहरू, प्रदेशसभा सदस्य, नेपाल सरकारका सचिव, नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारी, विभिन्न सरकारी निकायका प्रमुख, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने उनले बताए।

अध्यक्ष रसाइलीले साधारण सभामा व्यवसायिक हकहित, सुनको माग र आपूर्ति, कारीगढको सीप विकास तथा नेपाली कारीगढलाई स्वदेशमै टिकाउने विषयमा गहन छलफल हुने बताए।

उनले पछिल्लो समय सुनको कारोबार अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै राज्यले दैनिक २५ किलो सुन आयातको व्यवस्था गरे पनि आयात भएको सुन बैंकमै रोकिएर बस्ने अवस्था रहेको बताए। “बजारमा बिक्रीका लागि पर्याप्त सुन उपलब्ध छ, तर कारोबार कम हुँदा व्यवसायीले सुन कहाँ बिक्री गर्ने भन्ने विषयमा व्यवस्थापन आवश्यक देखिएको छ,” उनले भने, “यस विषयमा नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल तथा आवश्यक माग राखिरहेका छौँ।”

रसाइलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालमा पनि सुन उत्पादन कम्पनी स्थापना गर्दै भविष्यमा ‘गोल्ड बैंक’ अवधारणालाई अघि बढाउने महासङ्घको योजना रहेको बताए। सरकारले विलासिता कर हटाई सीप प्रवर्द्धन शुल्कका रूपमा ०।५ प्रतिशत कर लागू गरेको विषयलाई महासङ्घले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले उपभोक्तामाथि अतिरिक्त भार नपर्ने नीतिका पक्षमा महासङ्घले पहल गर्ने बताए।

नेपालमा विदेशी कारीगढले काम गरिरहेको तर नेपाली कारीगढ रोजगारीका लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले नेपाली युवालाई स्वदेशमै आकर्षित गर्न सीपमूलक तालिम, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना रहेको बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा साधारण सभा मूल आयोजक समिति संयोजक दिनेशरत्न शाक्यले सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ अनुसार वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्ने व्यवस्था रहेको बताए। सोही कार्यविधिअनुसार बजार मूल्य निर्धारण हुने भए पनि अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजनमा कहिलेकाहीँ समस्या आउने गरेको उल्लेख गर्दै उनले मूल्य समायोजन र व्यवसायीका समस्याको समाधानका लागि महासङ्घले निरन्तर पहल गरिरहेको बताए।

पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष धर्मसुन्दर ब्रजाचार्य, पूर्वअध्यक्ष मोहन सुनार, प्रवक्ता जीवनज्योति सदाशंकर, महासचिव किरणभाई बज्राचार्यले सुनचाँदी व्यवसायलाई सुरक्षित, व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन सरकार तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।

उद्घाटन सत्रपछि बन्द सत्र सञ्चालन हुने कार्यक्रम रहेको छ। बन्द सत्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै लेखा परीक्षक नियुक्ति, समसामयिक व्यवसायिक एजेन्डा र नीतिगत विषयमा छलफल हुनेछ।

साधारण सभा समापनका अवसरमा सुनचाँदी व्यवसायलाई थप मर्यादित, प्रतिस्पर्धी, गुणस्तरीय, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित विभिन्न नीतिगत प्रस्ताव समेटिएको ‘बुटवल घोषणा–पत्र’ सार्वजनिक गरिने  केन्द्रीय सदस्य दीपक विश्वकर्मा महासङ्घले बताए।

प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij