खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल , खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयमा उद्योगी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा रूपन्देही उद्योग संघ, बुटवलको सहयोगमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उद्योगी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख अनुप हलवाईको अध्यक्षता तथा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर, खाद्य अनुमतिपत्र तथा उद्योगीले पालना गर्नुपर्ने मापदण्डका विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको   उद्देश्यबारे प्रकाश पार्दै कार्यालय प्रमुख अनुप हलवाईले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारणदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण प्रक्रियामा स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खाद्य स्वच्छता र गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा उद्योगी तथा व्यवसायी थप जिम्मेवार हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा  रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले खाद्य स्वच्छता र गुणस्तर उद्योगको उत्पादनसँग मात्र नभई उपभोक्ताको स्वास्थ्य तथा उद्योगप्रतिको विश्वाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । उहाँले विशेषगरी उद्योगको सफलता उत्पादन र बिक्रीमा मात्र नभई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्न सक्ने सुरक्षित र गुणस्तरीय उत्पादन दिन सक्नुमा निर्भर रहने उल्लेख गर्दै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय र उद्योगीबीच नियमित संवाद, सहकार्य तथा सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। पहिलो कार्यपत्र खाद्य निरीक्षण अधिकारी गौरी हमालले प्रस्तुत गर्दै खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित मापदण्ड, अपनाउनुपर्ने सावधानी तथा उद्योगीको भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी , दोस्रो कार्यपत्रमा खाद्य अनुमतिपत्रको अनलाइन प्रणाली सम्बन्धी जानकारी प्रदान गरिएको थियो। खाद्य निरीक्षण अधिकारी प्रकाश भण्डारी तथा कम्प्युटर अपरेटर अनुप अधिकारीले अनलाइनमार्फत खाद्य अनुमतिपत्र लिन सकिने प्रक्रिया, आवश्यक विवरण तथा प्रणालीको प्रयोगसम्बन्धी जानकारी सहभागीलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी उद्योगीहरूले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड, खाद्य अनुमतिपत्रको प्रक्रिया तथा अनलाइन प्रणालीका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । सहभागीका जिज्ञासाको सम्बन्धित अधिकारीहरूले आवश्यक जानकारी तथा सहजीकरणसहित सम्बोधन गर्नुभएको थियो । खाद्य पदार्थको गुणस्तर कायम गर्दै उपभोक्ताको स्वास्थ्य संरक्षण गर्ने तथा उद्योगीलाई खाद्य स्वच्छता, गुणस्तर र अनुमतिपत्रसम्बन्धी आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रूपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्री,द्धितिय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष विशाल बेलबासे, कार्यसमिति सदस्यहरू यादव गैरे, दिलु शाही र रमेश आचार्य लगायत ४५ जना उद्योगी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij