बुटवल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
व्यवसायी डा. घलेले सामाजिक संजालमा शुक्रबार साझ एक पाेष्ट राख्दै बाढीबाट प्रभावित बालबालिकाको अवस्था आफू र आफ्नी पत्नी जमुना गुरुङलाई गहिरो रूपमा प्रभावित बनाएको बताएका छन्। डा. घलेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीसंग मन्त्रालयमा भेटगरी उक्त सहयाेगकाे घाेषणा गरेका हुन।
बाढीका कारण अभिभावक गुमाएका तथा विभिन्न रूपमा प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) गरेर उक्त रकम उपलब्ध गराउने भएको हो।
फाउन्डेसनका अनुसार सहयोग रकम बालबालिकाको व्यक्तिगत अवस्था र आवश्यकताका आधारमा परिचालन गरिनेछ। यसबाट उनीहरूको शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उनले भोटेकोसीको बाढीको पानी घट्दैमा प्रभावित परिवार र बालबालिकाको समस्या समाप्त नहुने उल्लेख गरेका छन्। प्राकृतिक विपत्तिपछि अभिभावक गुमाएका वा बेसहारा बनेका बालबालिकाको जीवनमा दीर्घकालीन असर पर्न सक्ने भएकाले तत्काल राहतसँगै उनीहरूको भविष्य सुनिश्चित गर्न निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ छ।
‘यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत गर्नेछ’, घलेले भनेका छन्।
घलेले बाढी प्रभावित बालबालिका र उनीहरूका परिवारले भोगेको पीडालाई आफूहरूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा मात्र नभई आगामी वर्षहरूमा समेत उनीहरूको साथमा रहन पाउनुलाई आफूहरूले सौभाग्यका रूपमा लिएको बताएका छन्।
‘उनीहरूलाई यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि सहयोग गर्न पाउनुलाई हामी सौभाग्य ठान्छौँ। यस सहयोगले उनीहरूलाई अध्ययनमा निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र भविष्यप्रति आशावादी बनाउन मद्दत पुर्याउनेछ’, उनले भनेका छन्।
भोटेकोसी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको आवश्यकता बढेको छ। विशेषगरी अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र दीर्घकालीन पुनःस्थापनालाई चुनौतीका रूपमा हेरिएको छ।
एमआईटी ग्रुप फाउन्डेसनको यो सहयोगले तत्कालीन राहतभन्दा बाहिर गएर प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा, संरक्षण र आधारभूत आवश्यकताको निरन्तरतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्