भैरहवा , विकाससम्बन्धी जर्मनीको अनुभव तथा नेपालको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा निजी क्षेत्र तथा सरोकारवालाबीच विशेष छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत महामहिम उडो भोल्झासहित जर्मनीको विशेष टोलीको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–जर्मनीबीच आर्थिक तथा व्यावसायिक सहकार्य, लगानी, प्रविधि हस्तान्तरण, सीप विकास र निजी क्षेत्रको भूमिकालगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाल चेम्बर अफ कमर्स तथा लुम्बिनी प्रदेशको निजी क्षेत्रका तर्फबाट राजदूत भोल्झा र जर्मन टोलीलाई भैरहवामा स्वागत गर्दै नेपाल र जर्मनीले एक–अर्काबाट धेरै कुरा सिक्न सक्ने बताए।
अध्यक्ष पोखरेलले नेपालसँग युवा जनशक्ति र बढ्दो आर्थिक तथा व्यावसायिक सम्भावना रहेको तथा जर्मनीसँग उन्नत प्रविधि, दक्ष जनशक्ति, सीप र सुदृढ संस्थागत अनुभव रहेको उल्लेख गर्दै यी दुई देशका पूरक सम्भावनालाई दीर्घकालीन साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
उनले लगानी, प्रविधि, सीप विकास र व्यवसायका क्षेत्रमा नेपाल–जर्मनी सहकार्यलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेशलाई दुई देशबीचको व्यावहारिक आर्थिक तथा व्यावसायिक सेतुका रूपमा विकास गर्न सकिने धारणा राखेका छन्।
अध्यक्ष पोखरेलले जर्मनीको अनुभवबाट नेपालले अधिकतम लाभ लिन तथा निजी क्षेत्रको सहभागितामा सहकार्यलाई परिणाममुखी बनाउन चेम्बर र निजी क्षेत्रले तत्काल चाल्नुपर्ने पहिलो ठोस कदमका विषयमा महामहिम राजदूतको सुझावसमेत माग गरेका थिए।
कार्यक्रममा सहभागी जर्मन टोली तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिबीच नेपालमा लगानीको वातावरण, प्रविधि तथा सीप हस्तान्तरण, उद्यमशीलता प्रवर्द्धन र द्विपक्षीय व्यापार तथा व्यावसायिक सम्बन्ध विस्तारका सम्भावनाबारे अन्तरक्रिया भएको थियो।
लुम्बिनी प्रदेशमा भएको उक्त छलफललाई नेपाल–जर्मनीबीच निजी क्षेत्रमार्फत आर्थिक सहकार्य विस्तार तथा जर्मनीको विकास अनुभवलाई नेपालको विकास प्रक्रियासँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
प्रकाशित मिति : बुधबार, असोज २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्