बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका प्रभावशाली नेता खेलराज पाण्डेयले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । “रुपान्तरित कांग्रेसका लागि व्यावहारिक र अनुभवी नेतृत्व” भन्ने मुख्य नाराका साथ उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा :
स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका पाण्डेयले वि.सं. २०४४ देखि २०४६ सम्म काठमाडौंस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेविसंघ इकाई सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । शैक्षिक हकहित र निरंकुशताविरुद्धका आन्दोलनमा नेविसंघको अग्रपंक्तिमा रहेर काम गरेका उनले वि.सं. २०४७ देखि बुटवललाई आफ्नो मुख्य राजनीतिक कर्मथलो बनाए ।
विद्यार्थी राजनीतिपछि भातृ संस्था र पार्टी संगठनमा निरन्तर क्रियाशील रहँदै पाण्डेयले वि.सं. २०५२ मा नेविसंघ रूपन्देहीको सचिव र २०५९ मा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष भएर काम गरेका थिए । वि.सं. २०६० मा तरुण दलको केन्द्रीय सदस्य बनेका उनले लामो समय नेपाली कांग्रेस बुटवल नगर सभापतिका रूपमा पार्टीको नेतृत्व सम्हाल्दै तल्लो तहसम्म संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित भए पनि हारबाट विचलित नभई लगातार जनताको घरदैलो र सेवामा सक्रिय नै भए । त्यसैको परिणामस्वरूप, वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका तर्फबाट ३०,२४९ मतका साथ फराकिलो मतान्तरले बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित हुन सफल भए । सादगी जीवनशैली, मिजासिलो व्यवहार र जनतासँगको प्रत्यक्ष पहुँचका लागि उनी परिचित छन् ।
रुपन्देही क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि रहेका पाण्डेयले पार्टीभित्र राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई सुदृढ बनाउँदै कांग्रेसलाई रुपान्तरित, पारदर्शी र जनमुखी बनाउने संकल्प गरेका छन् । स्थानीय सरकार सञ्चालन र लामो सांगठनिक अनुभवलाई केन्द्रीय नीति निर्माणमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतका लागि अपिल गरेका छन्
प्रकाशित मिति : बुधबार, असोज २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्