काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।
समतिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दसैँ घर वा पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा–आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीका दिन गरिएका कर्मलाई नै दोहोर्याउनुपर्ने उनले बताए ।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा–आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ ।
हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिइन् ।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा–आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उनले बताइन् ।
हनुमानढोका दरबारको दसैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्