बुटवल, नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण नेतृत्वले आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उनले बताए ।
पदका सामुन्ने कसैले मानेनन्, जसको प्रतिफल जेनजी आन्दोलन भयो । अब विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी (अधिकृत) उपलब्ध नगराउँदा अहिलेको राजनीतिक परिस्थिति सिर्जना भएको तर्क गरेका छन् ।
तत्कालीन सरकार र राजनीतिक दलहरूले बालेनको आग्रहलाई बेवास्ता गर्दा त्यसको परिणाम अहिले भोग्नुपरेको र यो विषय तत्कालीन समयमै आफूले एमाले–कांग्रेस–माओवादीका शीर्ष नेताहरुलाई सुनाएको बताए ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले तत्कालीन समयमा बालेनले आफूलाई अधिकृत पठाइदिन आग्रह गरेको र आफूले शीर्ष नेताहरूसँग समेत कुरा गरेको बताए ।
‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो । उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो । मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ । केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ । तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन् । आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे,’ उनले भने ।
भण्डारीले अहिलेको सरकारले विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य निर्माण गर्न नहुने बताए । लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले विगतको योगदानलाई पनि स्वीकार गर्नुपर्ने धारणा राखे ।
‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ । केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो । आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने ।
सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार नचल्ने भन्दै भण्डारीले जनताको काम गरेर जनमत आर्जन गर्नुपर्ने बताए । सरकारलाई काममा केन्द्रित हुन आग्रह गर्दै उनले युवाको ऊर्जा र क्षमतालाई विकासमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
उनले वर्तमान सरकार पाँच वर्ष चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि बताए । सरकारलाई अस्थिर बनाउनेभन्दा पनि आवश्यक सहयोग गरेर काम गर्न दिनुपर्ने उनको भनाइ थियो ।
‘हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ । हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ । युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन् ।’
भण्डारीले सरकारको आलोचना र अनावश्यक विवादमा अल्झिनुभन्दा काम गरेर देखाउनुपर्ने बताए । सरकारका गतिविधिमा गल्ती भएको भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने भन्दै उनले काम रोक्ने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गरे ।
‘यदि गगन थापाले वा नेपाली कांग्रेसको कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको छ भने कारबाही गरेर देखाउनुस् । होइन भने काम गर्न छोडेर नचाहिने काम किन गर्दै हिँडेको ? काम गर्नुस् । यत्रो युवा शक्ति छ, यसको प्रयोग गर्नुपर्दैन ?’ उनले प्रश्न गरे ।
सो अवसरमा क्षेत्र नं २ क का सभापति जोवान सिंह ठकुरी, क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, जिल्ला सभापति रामकृष्ण खाण, प्रदेश कोशाध्यक्ष प्रकाश राना , लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ , नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिल गुरुङ , बालकुमारी भण्डारी लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो। क्षेत्र नं दुईका सचिव छायां पोख्रेल को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्