मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय, सरकारी प्रक्रिया सुरु

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय, सरकारी प्रक्रिया सुरु

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने र घाइतेहरूको उपचारको व्यवस्था मिलाउने प्रक्रिया सरकारले अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको हो।

बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु भएकामध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा थिए भने चालक कविलासी नगरपालिकाका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले प्राथमिकतामा राखेको छ। उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकिएको जनाइएको छ।

घाइते छ जनामध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमासम्बन्धी कानुनअनुसार मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम र घाइतेहरूको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ।

यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग आवश्यक समन्वय भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। क्षतिपूर्तिबापत उपलब्ध गराइने निश्चित रकम भने सार्वजनिक गरिएको छैन।

त्यस्तै, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

सरकारले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घाइतेहरूको उपचारमा सहजीकरण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij